झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
झापा दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार साँझ साढे ६ बजेको समयमा झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत-१ का ३२ वर्षीय तनवीर आलम पक्राउ परेका हुन् ।
बीओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरीले चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एच ९५५५ नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार आलमको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र नेपाली रुपैयाँ ३९ हजार १०० फेला परेको थियो ।
उनलाई पक्राउ गरी प्रहरी चौकी शरणामतिमा राखिएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।