चुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दामा कांग्रेसमा मतभेद
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ‘एक्जिट पोलिसी’, चुनावी गठबन्धन र आसन्न १५ औं महाधिवेशनको विषयमा मतभेद देखिएको छ । गत फागुनको महासमिति बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका सांगठनिक र समसामयिक प्रस्तावमा समावेश यी तीन विषयलाई पार्टीको नीतिगत धारणा बनाउने कि नबनाउने भन्नेमा केन्द्रीय कार्यसमितिमा संस्थापन र इतरपक्षबीच मतभेद देखिएको हो ।
संस्थापन पक्षले यी तीनवटै विषयमा संशोधन आवश्यक रहेको जनाएको छ । महामन्त्री थापा र शर्मासहित इतरपक्षीय सदस्यहरूले यी विषय दस्ताबेजमै समावेश गरेर जानुपर्ने बताएका छन् । सहमति खोज्न कार्यसमितिको बैठक भदौ ७ सम्मका लागि स्थगित गरिएको छ ।