प्राज्ञिक थलोमा राजनीतिक ‘गुन्डागर्दी’
काठमाडाैं । कांग्रेस–एमाले मिलापले सिंहदरबारमा दुईतिहाइको सरकार छ । तर, तिनै दुई दलको ‘राजनीतिक संरक्षण’मा देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा भने सन्त्रास छ । दलबाट ‘दुरुपयोग’ भएका विद्यार्थीको धम्कीपछि कार्यालय छाडेर बिदा बसेका त्रिवि पदाधिकारीलाई फर्काउन शिक्षामन्त्रीले सामाजिक सञ्जालमै लेखेर गृहमन्त्रीसँग सुरक्षाको गुहार माग्नुपरेको छ ।
त्रिवि कीर्तिपुरमा कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुको अहिलेको लडाइँको उद्गम विन्दु हो, समाजशास्त्र विभागमा नयाँ विभागीय प्रमुखको सिफारिस । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल सकिएपछि विभागले वरिष्ठताका आधारमा पहिलो नम्बरमा पासाङ शेर्पा, दोस्रो नम्बरमा टीकाराम गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो । तर, मानविकी तथा समाजशास्त्र संकायकी डिन प्रा.डा. कुसुम शाक्यले वरीयता मिचेर दोस्रो नम्बरका गौतमलाई विभागीय प्रमुख बनाउन सिफारिस गरिन् । शाक्य र गौतम कांग्रेसनिकट हुन् भने शेर्पा एमालेनिकट हुन् ।
पहिलो वरीयतामा परेका शेर्पालाई पाखा लगाएपछि एमालेनिकट विद्यार्थी विरोधमा उत्रिए । वरीयता मिचेर गरिएको सिफारिस कार्यान्वयन नगर्न उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालमाथि दबाब दिन थाले । अर्कोतिर कांग्रेसनिकट विद्यार्थीले गौतमको नाममा भएको सिफारिस उल्ट्याए ‘राम्रो नहुने’ धम्की दिन थाले । दुई संगठनका विद्यार्थीको तारन्तार धम्कीपछि प्रहरीकै सुझावमा पदाधिकारीहरू कार्यालय आउनै छाडे । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ‘ख्याल गरेर आउजाउ गर्न’ सुझाव दिएको थियो । त्यसपछि उनीहरू संयमित भएर बिदामा बस्न थालेका थिए ।
स्रोतका अनुसार कांग्रेसनिकट विद्यार्थी नेता योगेन्द्र रावलले गौतमलाई विभागीय प्रमुख नबनाए ‘ज्यान जोखिममा पर्ने’ धम्की दिएपछि त्रिवि पदाधिकारीको भागाभाग भएको हो । रावलको विगत ‘आपराधिक’ छ जसले ०७७ मा त्रिविकै प्राध्यापक प्रेम चलाउनेमाथि ‘ज्यान मार्ने’ उद्देश्यले विश्वविद्यालय हाताभित्रै आक्रमण गरेका थिए ।
निरन्तरको धम्कीपछि रजिस्ट्रार रिजालले गत शुक्रबार नै आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र पठाएका थिए । त्रिभुवन विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण विश्वविद्यालयका पदाधिकारीहरू तथा केन्द्रीय कार्यालयपरिसर, कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएको हुँदा नेपाल सरकार गृह मन्त्रालयमार्फत पदाधिकारीहरू उपकुलपतिज्यू, शिक्षाध्याक्षज्यू र रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालयपरिसर कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
शिक्षामन्त्रीको गुहारपछि गृह मन्त्रालयले कीर्तिपुर प्रहरी वृत्तबाट इन्स्पेक्टरको कमान्डमा सुरक्षा प्रबन्ध मिलाएको छ । सुरक्षित रहने विश्वासमा त्रिवि पदाधिकारीहरू बुधबारदेखि नै कार्यालयमा उपस्थित हुन थालेका छन् । तर, समाजशास्त्र विभागमा चर्किएको विवाद ज्युँकात्युँ छ । यसअघि पनि त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला लगाउने, ढुंगामुढा गर्नेलगायत काम विद्यार्थी नेताहरूबाट भएकाले पदाधिकारी सन्त्रासमै छन् ।
रजिस्ट्रार रिजालले वातावरण अनुकूल भएपछि कार्यालय आउन थालेको बताए । ‘आजदेखि नियमित काममा छौँ,’ उनले भने, ‘अब नियमित कामकाज अघि बढ्छन्, तर जे विषयमा विवाद हो, सो विवाद समाधान भएको छैन ।’नयाँ पत्रिकामा खबर छ ।