सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएकाे निर्माण व्यवसायीकाे आराेप
काठमाडाैं । निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी निलो पान्इट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।
निर्माण व्यवसायीहरुको असली दुश्मन सरकार भन्दा पनि कर्मचारी भएको उल्लेख गरे । उनीहरुले निजामति कर्मचारीहरुले अघिल्लो पुस्ताका निर्माण व्यवसायीहरुलाई पनि दुःख दिएको र अहिले पनि सुधार नभएको दाबी गरे । कतिपय व्यवसायीहरुले भने निर्माण व्यवसायीहरुका भुक्तानी,म्याद थप,सार्वजनिक खरिद नियमवाली लगायतका विषयमा एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी निकोलश पाण्डेले निर्माण व्यवसायीहरुको असली दुश्मन भनेको नेपाल सरकारका निजामति कर्मचारी भएको आरोप लगाउनुभयो । उहाँले सरकारी कर्मचारीहरु भनेको निलो पाइन्ट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको गम्भिर आरोप लगाउनुभयो । उहाँले सरकारी कर्मचारीहरुले विगतमा र र आजको दिनसम्म पनि दुःख दिइरहेको भन्दै सुधारको लागि निर्माण व्यवसायीहरु एक जुट हुन आवश्यक रहेको औंल्याउनुभयो ।
उहाँले निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न,ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्दा, हस्ताक्षर भएपछि काम शुरु गर्दा, विल बनाउँदा र आयोजनाहरुको म्याद थप गर्न समेत पैसा घुस दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घरखेत विहीन बनाएकाले निर्माण व्यवसायीहरु पनि पलायन भइसकेको दाबी गर्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकिकृत भएर पूर्वाधारमैत्री ऐन कानून एक जुट हुनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याए तर पनि कार्यान्वयन नभएको गुनासो आईरहेकाले सहजिकरणको लागि महासंघ लागि रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायी महासंघको पहलमा बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनमा समस्या भएको बताउनु भयो । उहाँले बैंकको कार्यविधिमा मौद्रिक नीति जारी भएको मितिबाट मंसिरसम्म मात्रै भनिएको भन्दै त्यसले चेक अनादरका विषयमा व्यवसायीहरुको समस्या समाधान नहुने बताउनुभयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको वर्षौं भएको भन्दै सरकारले व्यवसायीहरुको आँखा चल्ने गरी नीति ल्याएको बताउनुभयो । उहाँले व्यवसायीहरुका समस्या समाधानको लागि व्यवसायीहरु एक हुन जरुरी रहेको बताउनुभयो ।
महासंघका महासचिव रोशन दाहालले अहिले इतिहासकै गम्भीर मोडमा निर्माण व्यवसाय पुगेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीसँग सम्बन्धित अहिले भएका नियमावली र ऐनहरुलाई राज्यका निकायहरुबाट खोजिर व्यवसायी माथि प्रहार भइरहेको बताउनुभयो ।
उहाँले सरकारले व्यवसायीहरु माथि दुःख दिएपनि ठेक्कामा बिलो हाल्ने प्रथामा व्यवसायीहरु डटेर लागिरहेको बताउनुभयो । पछिल्लो समय पुराना निर्माण व्यवसायीहरु पलायन भइरहेको बताउनुभयो ।