अनार जुसमा भेटियो लेदो
झापा । बङ्गलादेशको ढाकाबाट उत्पादन हुने प्राण डेयरी कम्पनीका पेय पदार्थ (जुस) मा लेदो भेटिएको छ । स्वास्थ्यका लागि हानिकारक हुने गरेको तथ्य फेला परेको प्राण कम्पनीका पेय पदार्थहरू नेपालमा आधिकारिक रुपमा डिलर सीप लिएर बेचबिखन गर्दै आइरहेको छ । घटना विवरण अनुसार मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीका लागि आफन्तजनले ल्याएको प्राण लेखिएको अनार जुसमा बुधबार दिउँसो लेदो भेटिएको हो ।
भद्रपुरका सञ्जय भूइँमालीले आफ्नी बिरामी छोरीलाई सो जुस खुवाउनका लागि गिलासमा खन्याउँदा लेदो निस्किएको थियो । उनले सो जुस खनाउँदै लेदो निस्किरहेको भिडियो नै सामाजिक सञ्जालमा हालेर उपभोक्ताहरूलाई सचेत गराएका छन् । साथै यस्ता कम्पनीलाई कारबाही गर्नुपर्ने पनि उनले भिडियोमार्फत सम्बन्धित निकायसँग माग गरेका छन् । सो जुसको प्याकेटमा उत्पादन मिति सन २०२४ जुन र समाप्त अवधि २०२५ डिसेम्बर उल्लेख छ ।
प्याकेटमा आयातकर्ता कम्पनी मेची कोशी ट्रेडर्स झापा मेचीनगर समेत उल्लेख छ । फेसबुकमा प्राण फुड्स नेपाल नाम उल्लेख भएको पेज राखेर आयातकर्ताले त्यसमा अनार जुस बिरामीलाई खुवाउन उपयुक्त जुस हो भनेर समेत प्रचारप्रसार गरिरहेको पाइएको छ । यी कम्पनीले विभिन्न फलफूलको जुस उत्पादन गरी बजारमा पठाइरहेको छ । जसको अनुगमन नहुँदा उपभोक्ताहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड समेत भइरहेको छ ।