आदिवासीहरुको मेला संस्कृति संकटमा
झापा । दशै मेला लाग्ने ठाउँलाई मास्दै गएपछि मेला भरेर दशै मान्ने तराईका आदिवासीहरुको संस्कृति संकटमा परेको छ ।
परापूर्वकालदेखि दशैमा लाग्दै आएको मेलाहरुलाई बिस्थापित गर्न खोजेपछि मेला भरेर दशै मान्दै आएका आदिवासीहरुको मेला संस्कृति संकटमा परेको हो । दशैको महानवमीको दिनदेखि गरामनीबाट शुरु हुने मेला एक सातासम्म विभिन्न ठाउँमा लाग्ने गरेको थियो । मेलामा रमाइलो गरेर उनीहरुले दशै मान्ने गरेका थिए ।
महानवमीको दिन गरामनीको दुर्गा मन्दिरमा महापूजा,दशमीका दिन बिर्ताबजार, घैलाडुब्बा , राजगढ, एकादशीका दिन गरामनी,द्वादशीका दिन चारआली , त्रयोदशीका दिन शनिश्चरे , चतुर्दशीका दिन बैशावारी र कोजाग्रत पूर्णिमाका दिन चकचकीको फूलवारीमा मेला भरेपछि उनीहरुको दशै सकिन्थ्यो । त्यसबाहेक भद्रपुर , भारतको चुल्ली मेला पनि चर्चित मेलाको रुपमा रहेको थियो । मन्दिर र मेलाका लागि आदिवासीहरुले दान दिएको जग्गा गैरआदिवासीहरुले मासेर खाएपछि अहिले दशै मेलाहरु संकटमा परेको आदिवासी नेता त्रिनारायण राजवंशी गुनासो गर्छन् । आदिवासीहरुको मेला संस्कृतिको महत्व नबुझिदिँदा दशै मेलाहरु संकटमा परेको उनी बताउँछन् ।
उहिले यातायातका साधन नभएको बेला सम्पनी गाडा(सजिसजाउ पारिएको गोरु गाडा) मा चढेर सपरिवार मेला भर्न गएकोे र मेलामा धक्रा झालङ( झल्ला र तन्ना)मा बसेर घुम्नी मुरी(चना मुरै) र जुलपी खाएको संझना उनीमा अझै बाँकी छ । ‘अहिलेको जस्तो होहल्ला र ठेलामठेल मेलामा हुँदैनथ्यो’ उनी भन्छन् ,‘ उहिलेको मेलाको महत्व नै अर्कै थियो ।’ मेला भर्नकै लागि आदिवासीहरुले दशैमा नयाँ लुगा किन्ने गरेका छन् ।
बालबालिकादेखि बृद्धबृद्धासम्म रमाउने मेलालाई विस्थापित गर्न खोजिएकोमा बिर्तामोड ९ की सकुन राजवंशी पनि चिन्ता गर्छिन् । ‘हाम्रो दिन सकिएछ , जग्गाजमिन त लिए लिए, अब हाम्रो अस्तित्व समेत मास्न खोज्दैछन् ’उनले गुनासो गरिन् ।
एकादशीका दिन लाग्ने गरामनी मेलालाई झापा जिल्लाकै नामी मेलाको रुपमा लिइन्थ्यो । त्यहाँ झापा, मोरङका मात्र नभएर भारतका मानिसहरु पनि मेला भर्न आउँथे । दुर्गा मावि अगाडिको खुला चौर र दुर्गा मन्दिर अगाडिको खाली ठाउँमा भव्य मेला लाग्ने गथ्र्यो । ती सबै ठाउँहरु अहिले घरले भरिएका छन् । मेला लाग्ने ठाउँ नै छैन । पैसा कमाउनकै लागि सार्वजनिक जग्गा मासिएको हो । हिजो दशमीका दिन बिर्ताबजारमा लागेको मेलामा सन्थालहरुले नाच्ने ठाउँ थिएन । उनीहरुले बाटोमै नाच देखाए । बिर्ताबजारको मेला लाग्ने ठाउँमा घरहरु बनेका छन् । उहिले बिर्ताबजारमा दर्जनौं सन्थाल टोलीले नाच देखाउने र मेला भर्नेहरुको लागि पर्याप्त ठाउँ थियो । दुर्गा मन्दिरको देवी गुठीको जग्गासंगै महेन्द्र रत्न मावि र शिवालय मन्दिरलाई आदिवासीहरुले दिएको जग्गा मासिसके ।
त्यस्तै गरामनीको दुर्गा मन्दिर र दुर्गा माविलाई आदिवासी राजवंशीहरुले नै निकै जग्गा दान दिएका थिए । मेला लाग्ने गरेको दुर्गा मावि अगाडिको एक विगाह जग्गा जनाकु राजवंशीले दान दिएका हुन् । त्यस जग्गामा व्यापारिक प्रयोजनका लागि टहरा बनाएपछि मेला लाग्ने ठाउँ नै छैन । आदिवासीले दान दिएको जग्गालाई आदिवासीकै संस्कृति जगेर्नामा प्रयोग गर्नुको साटो विद्यालयका शिक्षक र जनप्रतिनिधिहरुले आफ्नो फाइदाको लागि सो जग्गा मासेको भन्दै बिर्तामोडका एक राजवंशी जनप्रतिनिधिले आक्रोश पोखे ।
बिर्ताबजारको दुर्गा मन्दिरलाई डोमालाल राजवंशीले १२ विगाह जग्गा दान दिएका थिए । देवी गुठीको नाममा रहेको सो जग्गा केही व्यक्तिले बिक्री गरेका थिए । जुन जग्गामा डोमालाल राजवंशी रंगशाला अवस्थित छ । उल्फाको धन फुपुको श्राद्ध भनेझैं आदिवासीहरुले दान दिएको जग्गामा जसको हात उसकै जगन्नाथ गर्नेहरुले मनपरी गर्न थालेको उनको टिप्पणी छ ।