निरौलाको हत्या आरोपी बुद्धिमान थापालाई आज प्रहरीले पक्राउ गर्ने
दमक । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या आरोपी बुद्धिमान थापालाई आज प्रहरीले पक्राउ गर्ने भएको छ ।
स्वर्गीय बुवाको कोरामा बसेका बुद्धिमान थापालाई प्रहरीले निगरानीमा राखेको थियो । काजक्रिया सकिएपछि आज उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिने भएको हो । काजक्रिया सकिएकाले अब प्रहरीले पक्राउ गर्ने इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापाले बताए । एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमान थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जाहेरी परेका सातैजनाविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको छ ।
घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम पक्राउ परेका हुन् । उनीहरूसँगै घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जाहेरी परेकामध्ये थापा, एमाले कार्यकर्ता नमकुमार चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ र सुनसरी इटहरीका डेबिड घले फरार थिए । थापा पक्राउ परेपनि अरु तीनजना अझै फरार नै छन् ।
प्रदेश सांसद होम थापा,नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, मनोज थापा र बुद्धिमान थापाका पिता हरिश्चन्द्र थापाको गत कात्तिक १५ गते निधन भएको थियो । स्वर्गीय हरिश्चन्द्र थापा दमक नगरपालिकाक निवर्तमान नगर प्रमुख रोमनाथ ओलीका ससुरा हुन् ।
मृतक परिवारले चर्को दबाब दिएपछि प्रहरीले घटनामा संलग्न आरोपितहरुमाथि जाहेरी लिएको थियो । सातैजना विरुद्ध पक्राउ पूर्जी जारी भएपछि मात्र घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो । गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।