एमालेकाे जनसभा दरबारमार्गमा : प्रधानमन्त्री ओली र महासचिव पोखरेलले सम्बोधन गर्ने
काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज (शुक्रबार) राजधानी उपत्यकामा शक्ति प्रदर्शनको गर्न लागेकाे छ। जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने पार्टीले जनाएकाे छ ।
‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जनसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयाे ।
गौतमका अनुसार शहीद गेटबाट शुरु भएर एमालेको जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । ‘दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ’, उहाँले भन्नुभयाे ।
जनसभाबाटै एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । ‘एमाले नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै कतिपय अराजक शक्तिहरूले अफवाह फैलाइरहेका छन् । त्यसको प्रतिवादमा पनि हो, यो सभा,’ पार्टीका एक जिम्मेबार नेताले भन्नुभयाे ।
प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजना अन्तर्गत एमालेले यो जनसभाको तयारीमा सम्पूर्ण शक्ति खर्चिएको छ । नेताहरूका अनुसार पछिल्लो साता राजधानीमा उपलब्ध सम्पूर्ण पार्टीपंक्ति र वर्गीय विभागहरु परिचालित भएका छन् ।
भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने एमाले तयारी छ । उपत्यका र आसपासका जिल्लाहरूबाट मानिस ल्याउने उद्देश्यकै साथ बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई संयोजक र बागमती अध्यक्ष कैलाश ढुंगेल सहसंयोजक रहने गरी तयारी समिति गठन गरिएको थियो ।