भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा
परराष्ट्र सचिवसँग औपचारिक वार्ता, प्रधानमन्त्रीदेखि दलका नेताहरूलाई भेट्ने
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्।
दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतले स्वागत गरेका थिए।
सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ।
सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्। उक्त छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।
सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ। लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्।
सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। विदेश सचिव क्ववत्राले मंगलवार भने
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ।
यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए।
क्वात्राको भ्रमण नेपाल-भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ।
विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन्।
क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए। गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन। उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।
नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।
Source : Setopati