माओवादीको नाममा आपराधिक गतिविधि
झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा बिर्तामोड–६ स्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्न खोज्दा पक्राउ पर्नेहरु आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ ।
प्रहरीले मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझीलाई गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि विष्फोटक पदार्थ राखेको आरोपमा पक्राउ गरेको हो । बुधवार राजकुमारलाई उर्लाबारी नगरपालिका वडा नं. ७ उर्लाबारी चोकबाट पक्राउ गरिएको हो भने सोही दिन पथरीशनिश्चरे नगरपालिका वडा नं. १ जातेरोड चोकबाट धिरज पक्राउ परेका हुन् । उनीहरु घटना भएको अढाई महिनापछि पक्राउ परेका हुन् ।
दुवैजना विगतमा माओवादी भएर हाल आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । राजनीतिक उद्धेश्यभन्दा पनि चन्दा असुल्न खोज्ने ,नदिए थर्काउने, आतंकित पार्नेजस्ता गतिविधि उनीहरुले गर्ने गरेको खुलेको विष्टले जानकारी दिए । त्यो समूहद्वारा पूर्वमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड र कैलाली धनगढीतिर नेकपा (माओवादी) पश्चिम केन्द्रीय कमाण्डको नाममा आपराधिक गतिविधि हुने गरेको जनाइएको छ । सांगठनिक संरचना नभएका कारण पक्राउ परेका दुवैको जिम्मेवारी खुलिसकेको छैन ।
गत भदौ २८गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा.लि. को पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको विष्टले जानकारी दिए ।
केही समयदेखि विभिन्न संघ संगठनहरु गिरीबन्धु टी इस्टेटप्रति लक्षित देखिएका छन् ।आफूसंग नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नामबाट कोही पनि व्यक्ति सम्पर्कमा नआएको गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए । झापामा नेपाल कम्युनिष्ट पार्टी माओवादी , नेपाल कम्युनिष्ट पार्टी बहुमत , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाललगायतका संगठनहरुले विभिन्न गतिवधि गर्दै आएका छन् ।