के लिलाम हुन लागेको हो बीएण्डसी अस्पताल ?
झापा । विगत एक महिनादेखि प्रहरी हिरासतमा रहेका संचालक दुर्गा प्रसाईले आफ्नो पूर्वाञ्चल क्यान्सर र बीएण्डसी अस्पताल लिलाम हुने कुरा निराधार भएको बताएका छन् ।
स्वकीय सचिवको सहयोगमा सामाजिक संजालमा आज बिहान पोष्ट गर्दै उनले त्यो हल्ला मात्र भएको स्पष्ट पारेका हुन् ।
‘पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पताल लिलामको हल्ला चलाएछन्। पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पतालको अन्तरकथा अलिक फरक छ । कृपया त्यसको बिषयमा मसंग बुझ्न चुनौती दिन चाहन्छु ’ उनले भनेका छन् ।
उनले आफूलाई झुटा मुद्धामा फसाएर, राष्ट्र बैंकदेखि बैंकसम्मलाई प्रभावमा पारेर सो हल्ला फिजाइएको आरोप लगाएका छन् । उनले भनेका छन् ,‘ त्यो हामीलाई क्षम्य हुनेवाला छैन । दुर्गा प्रसाई विचार हो, मेरो सम्पति सबै लिलाम गर सरकार !!’ अघिल्लो पटक ९ दिन हिरासतमा रहेर धरौटीमा रिहा भएका प्रसाई गत मंसिर ४ गते पुनः पक्राउ परेका हुन् ।