मजदुरलाई खसी, नेतालाई कुखुरा
बिर्तामोड । गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित मैत्रीपूर्ण फुटबल खेलको उपाधि नेकपा माओवादी केन्द्रको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले जितेको छ । राजनीतिक दललाई ट्राइबेकरमा पराजित गर्दै महासंघले खसी हात पारेको हो । विजेतालाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’, पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’ले पुरस्कारसहित ट्रफी हस्तान्तरण गरेका थिए । उपविजेताले १५ केजी लोकल कुखुरा प्राप्त गरेका थिए । खेलमा सहभागी सबै टिमलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आङ्बोले गणतन्त्रवादीहरु एक हुनु अहिलेको आवश्यकता भएको बताए । संविधान विरोधी गतिविधीमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउँदै उनले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन नै शहिदहरुप्रतिको सम्मान हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव नविन बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुरेश आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई अखिल क्रान्तिकारी झापाका फ्याक्सन इञ्चार्ज दधिराम रिमालले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा इञ्चार्ज रञ्जित तामाङ, केन्द्रिय सदस्य हरिकुमार राना, लक्ष्मी न्यौपाने सरु, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ६ का अध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड उपसभापति सूर्य कन्दङ्बा, ५ का वडाध्यक्ष रोहित प्रसाई, ४ का वडाध्यक्ष राहुल शर्मा, ३ का वडाध्यक्ष मदन बुढाथोकी, अखिल नेपाल खेलकुद महासंघ झापा इञ्चार्ज मदन खड्कालगायतको सहभागिता रहेको थियो । कार्यक्रम अखिल नेपाल खेलकुद महासंघ झापा र अनेरास्ववियु (क्रान्तिकारी) झापाले संयुक्त रुपमा आयोजना गरेको थियो ।