पाथीभारा केबलकारको पक्षमा बोल्नेलाई मोसो
झापा । ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केबलकारको पक्षमा बोलेको भन्दै केबलकार विरोधीहरुले धरानमा एकजनालाई मोसो दलेका छन् ।
आज मध्यान्ह धरान उपमहानगर–२ भानुचौकस्थित सब्जी मण्डी लाइनमा रहेको एच के मेलोडी क्लबमा याक्थुङ चुम्लुङ केन्द्रीय समितिका अध्यक्ष दिलसिंह मेयाङबो,उपाध्यक्ष पदम चेन्जी लिम्बूलगायत १०÷१५ जना पदाधिकारीहरु याक्थुङ चुम्लुङको दोस्रो अधिबेशन सम्पन्न भएको जानकारी गराउन पत्रकार सम्मेलन गरिरहेका बेला केबलकार विरोधीहरुले मोसो दलेका हुन् ।
कार्यक्रम भइरहेका बेला एक्कासि प्रवेश गरेका प्रदेश न.१.पुनः नामांकन संयुक्त संघर्ष समिति सुनसरी जिल्ला इन्चार्ज तथा पहिचानवादी मोर्चा १.न.प्रदेश संयोजक जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी जिल्ला सचिव तथा संघर्ष समिति सचिवालय सदस्य शिवाहाङ राई,नागरिक उन्मुक्ति पार्टी केन्द्रीय उपमहासचिव अमर इजम, नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका नेतृ सिजना बेघा ,नेपाल राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव बिष्णु थाम्देनलगायत ७/८ जनाले केबलकारको पक्षमा सामाजिक संजालमा लेखेको र भाषण गरेको भन्दै पदम चेन्जी लिम्बूलाई कालो मोसो दलेर हातपात गरेका थिए । उनीहरुले लिम्बूलाई कालो मोसो दलेर माफी मगाउन खोज्दा माफी नमागेको बताइएको छ ।