समुदायमा सरकारी वकील कार्यक्रम
झापा । जिल्ला सरकारी वकील कार्यालय झापाको आयोजनामा अर्जुनधारामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा वडा नं. ३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा मंगलवार सो कार्यक्रम आयोजना गरिएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तथा वार्षिक कार्ययोजना २०८१÷०८२ ले निर्दिष्ट गरेबमोजिम “अभियोजनमा सुधार, व्यवसायिकतामा विकास”भन्ने नारालाई आत्मसात् गर्दै पीडितको सहायता र संरक्षणका विषयमा समुदायलाई जानकारी दिने र समुदायबाट सहयोग एवम् पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको जनाइएको छ ।
जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता युवराज महतको अध्यक्षता तथा सोही विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंह र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताहरू, कर्मचारीहरू, विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता प्रमिला सुनुवारले अनुसन्धान, अभियोजन र न्याय सम्पादन विषयमा प्रस्तुतिकरण दिएकी थिइन् । त्यस्तै कार्यक्रमका सभाध्यक्ष जिल्ला न्यायाधिवक्ता महतले सदाचार र नैतिकता, विपद् व्यवस्थापन, फौजदारी अनुसन्धान, अभियोजन र सुनुवाई विषयमा प्रस्तुतिकरण दिएका थिए ।
प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भण्डारीले सरकारी वकील कार्यालयबाट आयोजना हुने समुदायमा सरकारी वकील कार्यक्रमबाट समुदायमा सकारात्मक प्रभाव परेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम हुनुपर्नेमा जोड दिएका थिए ।मन्तव्यकै क्रममा कार्यक्रमका विशिष्ट अतिथि झापा जिल्ला अदालतका श्रेस्तेदार सिंहले कानूनको अनविज्ञता क्षम्य नहुने भएकोले हरेक व्यक्तिले सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक विष्टले किशोर किशोरीबाट हुनसक्ने साइबर अपराध, लागूऔषध सेवन,कारोबारलगायतका कसूरहरुबाट हुनसक्ने परिणामको बारेमा जानकारी गराउँदै त्यस्तो अपराधबाट जोगिनुपर्नेमा जोड दिएका थिए ।सहायक जिल्ला न्यायाधिवक्ता विजयकुमार रम्तेलले संचालन गरेको कार्यक्रममा नायब सुब्बा होमनाथ कट्टेलले स्वागत मन्तव्य राखेका थिए ।