बिद्यार्थीको चुनावले सत्तारुढ पार्टी भित्र कलह
दमक । दमक बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व चयनका लागि रस्साकस्सी गर्दै जाँदा संघ र प्रदेश सरकारका सत्तारुढ ठुला पार्टीमा भने आन्तरिक राजनीतिक कलह बढाएको छ ।

नेपाली कांग्रेस निकटको नेविसंघमा उम्मेदवारको आधिकारिकता र समर्थनका बिषयलाई लिएर वडादेखि केन्द्रीय नेता सम्म विभाजित भए । जसको कारण स्ववियुको अध्यक्ष एक पदका लागि नेविसंघमा आस्थावना दुई जना बिद्यार्थी अध्यक्षका उम्मेदवार बन्न पुगे ।
संघका केन्द्रिय अध्यक्ष डुजाङ शेर्पा, कांग्रेस महामन्त्री गगन थापा लगायतले यो निर्वाचनमा उम्मेदवारी दिएर बिद्यार्थीको मत र मन दुवै जितेका अध्यक्ष भुपेन्द्र बस्नेत (भुवन)लाई समर्थन गरेका थिए । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि प्रदेश सदस्य भुमिराज राई, चन्द्रा खड्का, महासमिति सदस्यहरु मेदनी सिटौला , अइन्द्र केरुङ, पूर्व बिद्यार्थी नेताहरु रोशन बिष्ट श्याम आचार्य, पर्शुराम रिजाल लगायत पार्टीको नगर समितिका सभापति बाहेक अधिकांश पदाधिकारीहरु बस्नेतको पक्षमा देखिन्थे । बस्नेत नेतृत्वको सो संयुक्त प्यानलको निर्वाचन परिचालन तथा व्यवस्थापन समिति संयोजकको जिम्मेवारी कांग्रेस झापा ५ का उपसभापति तथा प्रदेश सभा क्षेत्र सभापति रवि केसीले गरेका थिए ।
निर्वाचन परिणाम अनुसार तेस्रो स्थानमा खुम्चिएका अध्यक्षका उम्मेदवार साम्पाङको पक्षमा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बु, नगर सभापति प्रकाश प्रसाइँ, नेविसंघ जिल्ला सभापति सञ्जय निरौलासहितका नेतृत्व देखिएका थिए । अध्यक्ष निरौलाले त कतिपय पत्रकारहरुलाई फोन गरेर साम्पाङनै आधिकारिक रुपमा नेविसंघको उम्मेदवार भएको तर्कसहित बस्नेतसहित उनको पक्षमा चुनावमा लागेका पार्टीका सबैलाई नेविसंघले कारवाही गर्ने हाँस्यास्पद चेतावनी दिएका बताइएको छ ।
पार्टी केन्द्रिय सदस्य लिम्बुले नेविसंघको उम्मेदवारीका बिषयमा प्रकाशित कतिपय समाचारहरु सच्याउन दबाब दिँदै पत्रकारहरुसँग पुगेकी छिन् । कांग्रेस भित्र उम्मेदवारीकै बिषयमा कलह भइरहँदा सत्तारुढ नेकपा एमाले भित्र पनि अनेरास्ववियुका उम्मेदवारले चित्तबुझ्दो मत नपाएको र नेविसंघ भित्र चरम विवाद हुँदा पनि अनेरास्ववियुले बाजी मार्न नसकेको भन्दै भित्रभित्रै ठुलो खैलाबैला मच्चिएको बताइएको छ । अध्यक्षका उम्मेदवार निशम अधिकारी पराजित हुनुका पछाडी अनेरास्ववियुको समानुपातिक तर्फ खसेको सांगठनिक मत समेत पाउन नसक्नु भएको एकपक्षले तर्क गरिरहेका छन् ।
उम्मेदवारीका बिषयमा धेरै समस्या रहेको जस्तो बाहिर नदेखिएता पनि अनेरास्ववियुका उम्मेदवार जिताउन कतिपय नेताहरु फिल्डमा उत्रिएका देखिए पनि उनीहरुको प्रभावकारी भुमिका हुन नसक्नुलाई एमाले भित्र रहस्यमयी रुपमा लिन थालेका छन् ।