‘रक्तपात हुन नदिने’ भन्दै मस्को प्रवेश नगरी फर्किने भयो रूसको विद्रोही सेना

रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले राजधानी मस्को प्रवेश नगर्ने सहमति गरेको छ।

रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको वागनरले ‘रक्तपात नहोस्’ भनेर मस्को प्रवेश नगरी फर्किने निधो गरेको रोयटर्सले लेखेको छ।

शनिबार वागनर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो। योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका थिए।

शनिबार रातिसम्म यो समूह मस्को पुग्ने अनुमान थियो। तर अन्तिम समयमा आएर समूहका प्रमुख येवगेनी प्रिगोजिनले मस्को प्रवेश नगर्ने सहमति गरेका हुन्।

रोयटर्सका अनुसार प्रिगोजिनसँग बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अडिओ वार्ता गरेका थिए। वार्ता क्रममा प्रिगोजिनले अवस्था सामान्य बनाउन र रक्तपात हुन नदिन आफूहरू पछाडि फर्किने सहमति गरेका हुन्। प्रिगोजिनले आफ्ना लडाकुहरू आफ्नो आधार शिविरमा फर्किने बताएका छन्।

मस्कोबाट पछि हटेसँगै वागनरका लडाकुहरूलाई सुरक्षित रूपमा फर्किन दिनुपर्ने शर्त प्रिगोजिनले बेलारूसका राष्ट्रपति अलेक्जेन्डरसँग राखेका छन्।

‘रूसको भूमिमा अब अगाडि नबढ्न अलेक्जेन्डरले गरेको प्रस्ताव प्रिगोजिनले स्वीकार गरेका छन्,’ अलेक्जेन्डरको प्रेस कार्यालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

प्रिगोजिनले पनि आफूहरूले फर्किने निधो गरेको पुष्टि गरेका छन्।

एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘हामी मस्कोभन्दा दुई सय किलोमिटर मात्र पर थियौं। यतिन्जेल हाम्रा लडाकुहरूको एक थोपा रगत पनि बगेन। तर अब रगत बग्ने समय आएको थियो। जताबाट पनि रसियालीकै रगत बग्ने हो। त्यसैले हामीले योजना बनाएअनुसार आफ्नै शिविर फर्किने निधो गरेका छौं।’

पछिल्लो जानकारीअनुसार वागनर समूह यसअघि रूसको लिपेत्स्क प्रान्तसम्म पुगिसकेको थियो। उक्त प्रान्तका गभर्नर इगोर अर्टामोनोभले वागनर समूह हातहतियारसहित सो क्षेत्रमा प्रवेश गरेको बताएका थिए। लिपेत्स्क प्रान्त मस्कोदेखि ३६० किमी दक्षिणको क्षेत्रमा पर्छ।

त्यसअघि प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए। रोस्तोव मस्कोबाट ११०० किमी टाढा छ। वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको थियो। उक्त समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको थियो।

रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको हो। प्रिगोजिनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका थिए। उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका थिए।

प्रिगोजिन पुटिन जन्मिएको सहर सेन्ट पिटर्सवर्गका हुन्। चोरी मुद्दामा केही समय जेल बसेका उनी सेन्ट पिटर्सवर्गमा ‘हट डग’ बेच्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महँगा रेस्टुरेन्ट खोलेका थिए। पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना आपूर्ति गर्न थालेको थियो। यसै कारण प्रिगोजिनलाई पुटिनको सेफ पनि भनिन्थ्यो।

वागनर समूह पहिलो पटक सन् २०१४ मा पहिचान भएको थियो। तर वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्वीकार गरेको थिएन। यसले सन् २०२२ मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको हो। यो समूहमा रहेका ८० प्रतिशत सैनिकहरू जेल बसिसकेका व्यक्तिहरू भएको बिबिसीले जनाएको छ।

प्रिगोजिनले पहिल्यैदेखि रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए। शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाए र रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी दिए।

‘जसले हाम्रा केटाहरू र दसौं हजार रूसी सैनिक (युक्रेन युद्धमा) मारे, उनीहरूलाई सजाय दिइनेछ,’ टेलिग्राममा हालिएको अडिओ मेसेजमा भनिएको छ, ‘म यसको प्रतिकार नगर्न चेतावनी दिन चाहन्छु। जसले हामीलाई रोक्न खोज्छ उसलाई हामी खतराको रूपमा लिएर ध्वस्त पार्नेछौं। यो कुनै सैन्य कू होइन। तर यो न्यायको लागि यात्रा हो।’

यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी लिएसँगै टेलिभिजनमार्फत् सम्बोधन समेत गरेका थिए। वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी उनले दिएका थिए। उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको पनि भनेका थिए। त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताएका थिए। 

तर शनिबार राति नै प्रिगोजिनले आफूहरू पछि हट्ने सहमति गरेका छन्।

Source:Setopati

Similar Posts