अधिवेशन तीन दिन सारेर नेकपा एसले कोशीमा घोषणा गर्यो ‘टिके कमिटी’
झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेभित्र विधिको शासन नभएको रटान लगाउन छाड्दैनन् । तर, उनकै पार्टी नेकपा एस पनि लोकतान्त्रि विधिमा नचलेको पाइएको छ । नेकपा एसको कोशी प्रदेशमा प्रतिस्पर्धा गर्न नै निषेध गरिएको छ । सहमतिको नाममा कोशी प्रदेशको अधिवेशन लम्ब्याएर नेकपा एसले तीन दिनपछि नेतृत्व चयन गरेको छ । नेकपा एकीकृत समाजवादीले पनि चुनावी प्रतिस्पर्धा रोकेरै सर्वसम्मतिको नाममा नेताकै आदेशमा नेतृत्व चयन गरेको हो । नेकपा एसले ‘टिके कमिटी’ घोषणा गरेको छ ।
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । खड्का यसअघि प्रदेश कमिटीको उप महासचिव थिइन् । उनी पूर्व प्रदेशसभा सदस्य पनि हुन् । उद्घाटन भएको तेस्रो दिनमा एसले नयाँ कार्यसमिति चयन गरेको हो ।
दुई उपाध्यक्ष रहने पाटीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन । ‘सहमतिमै दुई उपाध्यक्ष छानिएको छ’, स्रोतले भन्यो, ‘तर, उहाँहरू बाहिर रहेकाले नाम घोषणा नगरिएको हो ।’
यस्तै सचिवमा दलशेर राई निर्वाचित भएका छन् । तीन उपसचिव मध्ये एक जना भने पछि छान्ने गरी दुई जना सर्वसम्मत छानिएका छन् । जसमा आदिवासीतर्फ ताप्लेजुङ जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका छिरिङ लामा र दलिततर्फ उमा शङ्कर छन् । महिला उपसचिव भने खाली छोडिएको छ । अधिवेशन गत मङ्गलवारदेखि इटहरीमा सुरु भएको थियो । एमालेबाट पार्टी विभाजन भएपछि नेकपा ९एस०ले पहिलो पटक अधिवेशनबाट प्रदेशको नेतृत्व छनौट गरेको हो । अधिवेशनले १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।