नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म…
बाहिरी दृश्य नदेखिने गरी आँखामा कालो चस्मा (वेल्डिङ चस्मा) लगाइदिएर घिउ र खुदो खुवाइयो । अन्त्यमा आँखाको चस्मा निकाल्न लगाई मही खान दिइयो र नाटक चक्र (द ह्विल) सकियो ।
यतिखेर थापागाउँस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक चक्रको प्रसंग हो यो, जुन नाटकमा दर्शक नै पात्र बन्छन् । बिहीबार म पनि यस नाटकमा पात्रको रूपमा सहभागी थिएँ ।
यो नाटक घिउदेखि महीसम्म पुगेको छ, घिउ र मही खुवाउने क्रियाकलाप नाटक हलबाहिरै गराइन्छ । सुरुमा घिउ र खुदो खुवाएपछि दर्शकलाई एक–एक गरी कसैले डोर्याएर नाटक हलभित्र पुर्याउँछन् । यो बीचमा जे हुन्छ, त्यही नै यस नाटकको ‘स्वाद’ हो, जसलाई दर्शकले आ–आफ्नै किसिमले स्पर्श, रूप, रस र गन्धका रूपमा ग्रहण गर्न सक्छन् ।
नाटक हलबाहिर १५ वटा कुर्सीलाई वृत्ताकारमा सजाइएको थियो, कुर्सीमाथि ज्याकेट झुन्ड्याइएका थिए । ती कुर्सीमा दर्शकलाई राखेर कालो चस्मा लगाइसकेपछि क्रमशः ज्याकेट र खुट्टामा मोजा आकारको कपडा लगाइयो । ज्याकेट र मोजा दुवैमा छोइँदा टाँसिने र बल प्रयोग गर्दा च्यार्रर आवाजसहित छुट्टिने कपडा (खासगरी यसलाई टाँकको रूपमा प्रयोग गरिन्छ, मलाई यसको नाम थाहा छैन) जडिएको छ ।
जब दर्शकलाई हलभित्र लगियो, त्यहाँ कपडाको प्रयोगले टेन्टजस्तो बनाइएको थियो । जसको चारैतिर विभिन्न लयका संगीत वा कुनै ध्वनि बजिरहेको थियो । यस्ता ध्वनि बज्ने यन्त्रमा सेन्सर पनि जडिएका रहेछन्, त्यहाँ दर्शक पुग्दा संगीत वा ध्वनि बदलिन्थ्यो ।
हलमा दर्शकले केही देख्दैनथे तर हिँड्दा भुइँमा मोजा टाँसिन्थ्यो, अर्को व्यक्तिसँग ठोक्किँदा पनि ज्याकेट टाँसिन्थ्यो । हलभित्र स्पर्श हुने केही ध्वजाजस्ता वस्तु पनि थिए भने बेलाबेला दर्शकको अगाडि अत्तर छरिन्थ्यो । हलभित्र कति मिनेट राखियो भन्ने मैले याद गरिनँ, तर आधा घन्टाको हाराहारीमा हामीले धेरै कुरा महसुस गर्न पायौँ ।
यो संसार संवेदनात्मक (सेन्सरी) वा ग्रहणशील छ तर यस संसारलाई भोग्न संवेदनासँगै सङ्घर्ष पनि आवश्यक छ — चक्र नाटकले यही दर्शन बोध गराउन खोजेको बुझिन्छ ।
यो संसार वा ब्रह्माण्डलाई जान्न पञ्चमहाभूत वा पञ्चतत्त्व जान्नुपर्छ, ती हुन् — पृथ्वी, जल, तेज, वायु र आकाश । यसका सूक्ष्म रूप अर्थात् तन्मात्र छन् — शब्द, स्पर्श, रूप, रस र गन्ध । खासगरी जल तत्त्वमा रस, अग्नि तत्त्वमा रूप, वायु तत्त्वमा स्पर्श, पृथ्वी तत्त्वमा गन्ध र आकाश तत्त्वमा शब्द रहेको हुन्छ ।
यस्तै, बाह्य जगत्को ज्ञान गराउने पञ्चेन्द्रिय वा ज्ञानेन्द्रिय हुन् — आँखा, कान, नाक, जिब्रो तथा छाला । यहाँनेर अग्नि तत्त्वका कारण रूपको बोध हुन्छ । रूपको अर्थ हुन्छ, आँखाले देखेर जानिने एक गुण वा स्वरूप ।
यस नाटकमा हलभित्र प्रवेश गरिसकेपछि रूप हेर्न भने पाइँदैन । यसको पनि प्रयोजन रहेको बुझिन्छ, अर्थात् आँखा बन्द गर जे चलिरहेको छ त्यसमा ध्यान देऊ र त्यसलाई ग्रहण गर ।
हलभित्र लैजानुअघि कुर्सीमा राखिँदा दर्शकलाई घिउ, खुदो खुवाउँदै तिब्बती बाजा (सिङगिङ बउल)को ध्वनि सुनाइएको थियो । यतिखेर मलाई महसुस भएको थियो, यो नाटक बुद्ध र ध्यानतिर ढल्केको हुनुपर्छ ।
यस नाटकका परिकल्पनाकार तथा निर्देशक रामहरि ढकाल भन्छन्, ‘मैले बुद्धका बारेमा पढेको छु । बुद्धले ज्ञान हासिल गरेको पनि एक प्रकारको भोगाइ वा अनुभूतिबाट हो भन्ने मलाई लाग्छ । उनले तपस्या गर्दा जाडो, गर्मी, भोक, आदिलाई बोध गरे । यसका लागि उनले एकान्तको यात्रा गरेका थिए । ज्ञान वा बोधका लागि केही भोगाइ हुनुपर्छ भन्ने मलाई बोध भयो ।’
यस नाटकमा सहभागी भइसकेपछि मैले निर्देशक ढकाल, यस नाटकमा संगीत सर्जक केशवराज आचार्य र ध्वनि, प्रकाश तथा सेन्सर निर्माता अक्सल होगेनहउसँग कुरा गरेको थिएँ ।
सन् २००३ देखि सन् २०११ सम्म गुरुकुल नाटकघरमा काम गरेका निर्देशक ढकाल सन् २०१२ मा नाटक पढ्न नर्वे गएका थिए । त्यहीँ स्नातक र स्नातकोत्तर गरेका हुन्, उनको स्पेसलाइजेसन सिनोग्राफीमा हो । कलाकार र निर्देशकबाहेक दृश्यमा देखिने सबै चिजको अध्ययनलाई ‘सिनोग्राफी’ भनिन्छ । उनी नर्वेमै बसेर व्यावसायिक रूपमा रंगमञ्चमा काम गरिरहेका छन् । नाटकका प्रोजेक्ट लिएर नेपाल आउने–जाने पनि गरिरहेका छन् । अहिले उनलाई आर्ट एन्ड कल्चर नर्वेले यस नाटकका लागि सहयोग गरेको हो ।
यसअघि उनले सेन्सरी थियटरकै अवधारणामा ‘इन्साइड आउटसाइड’ मञ्चन गरिसकेका छन् । ‘चक्र’ नाटकको फर्मबारे निर्देशक ढकाल भन्छन्, ‘मैले सेन्सरी फर्ममा काम गरेको दर्शकको एक्सटर्नल भिजन (बाह्य दृष्टि)का लागि होइन, इन्टरर्नल भिजन (आन्तरिक दृष्टि) का लागि हो । यसमा आँखा खोलेको भए तपाईंले बाहिर मात्रै हेर्नुहुन्थ्यो । यहाँ आएर आफूभित्र केही खोज्यौँ । यो आर्ट अफ सेल्फ रिअलाइजेसन हो, वस्तुलाई वस्तुको रूपमा मात्रै नलिऊँ, गुणका रूपमा लिउँ ।’
निर्देशक ढकालले सेन्सरी फर्मका माध्यमबाट कथा भन्नुभन्दा पनि केही बोध गराउन खोजेको बुझिन्छ । सन् १९६० मा प्रकाशित आफ्नो पुस्तक ‘फर्म एन्ड मिनिङ इन् ड्रामा’मा एचडिएफ किट्टोले भनेका छन्, ‘नाटककारलाई केही भन्नु छ र उनी एक सक्षम कलाकार हुन् भने उनले बनाएको ‘फर्म’लाई हेरेर उनले नाटकमा भन्न खोजेको विषयलाई हामी बुझ्न सक्छौँ र त्यसलाई उनैले भनेको जस्तो ठान्छौँ । यहाँनेर दुईवटा प्रश्नले महत्त्व राख्छन् : पहिलो नाटककारले के भन्छन्, दोस्रो कसरी भन्छन् ?’
यस नाटकमा निर्देशक ढकालले बोध गराउन खोजेको कुरा एकातिर छ, तर यसमा सहभागी पात्रले के बोध गरे भन्ने त्यो नितान्त व्यक्तिगत हुन्छ ।
कालो चस्मा लगाए पनि हलभित्र एक छेउमा प्रकाशलाई मधुर जूनजस्तो देख्न सकिन्थ्यो । मानौँ, निर्देशकले कल्पना गरेको यो थियटरको फर्म एउटा संसार हो, त्यहाँ प्रकाशको उच्च महत्त्व छ । हलभित्र प्रवेश गर्नुअघि दर्शकलाई एउटा भाइब्रेट काठमाथि राखिएको थियो, सँगसँगै शंखनाद समेत सुनिएको थियो । त्यसले महसुस हुन्थ्यो, अब शरीरले कुनै नयाँ ऊर्जा महसुस गर्दै छ ।
यो नाटकमा सहभागी भइसकेपछि मलाई लाग्यो, फाइन आर्ट अन्तर्गतको इन्स्टलेसन आर्ट र पर्फोर्मेन्स आर्टकै विकसित वा मिल्दोजुल्दो रूप (फर्म)मा यो नाटक मञ्चन गरिएको छ । उसो त ब्रोसरमा ‘चक्र’माथि लेखिएको छ, ‘अ सेन्सरी थियटर पर्फोर्मेन्स’ ।
निर्देशक ढकालले संदेवी रंगमञ्च (सेन्सरी थियटर)अन्तर्गत नयाँ फर्ममा आफूले काम गरेको र जहाँ दर्शकले जीवनको संघर्षलाई बुझ्ने प्रयत्न गर्न सक्ने बताएका छन् ।
संसारमा सेन्सरी थियटरको कन्सेप्ट नयाँ होइन । ‘सेन्सरी थियटर’बारे टिम वेबको पुस्तक प्रकाशित छ, ‘सेन्सरी थियटर : हाउ टु मेक इन्टर्याक्टिभ, इन्क्लुसिभ, इम्मर्सिभ थियटर फर डाइभर्स अडियन्स बाई अ फाउन्डर अफ ओइली कार्ट’ ।
विभिन्न क्षमताका दर्शकलाई रंगमञ्चमा कसरी समावेश गर्ने, अभ्यस्त बनाउने र ती दर्शकका लागि रंगमञ्च कसरी अन्तक्र्रियात्मक बन्न सक्छ भन्ने उद्देश्यले बेलायतमा सन् १९८१ मा रंगमञ्चसम्बन्धी कम्पनी ‘ओइली कार्ट’ खोलिएको थियो, जसको संस्थापकमध्ये एक हुन्, टिम वेब । ‘सेन्सरी थियटर’ खासगरी अटिजम स्पेक्ट्रम र अन्य न्युरो डाइभर्जेन्टबाट प्रभावित पाँच वर्षमुनिका बच्चाका लागि प्रभावकारी छ ।
नाटक चक्र भने खास क्षमताका दर्शकका लागि मात्रै होइन, सबैले यसमा सहभागी हुन सक्छन् । यस नाटकमा संगीत केशवराज आचार्यले गरेका हुन् । ओस्लो युनिभर्सिटी नर्वेबाट म्युजिकोलजीमा मास्टर डिग्री गरेका आचार्य र निर्देशक ढकाल नर्वेमै भेटिएका हुन् । उनले निर्देशक ढकालसँग ‘इन्साइड आउटसाइड’मा पनि काम गरिसकेका छन् ।
यस नाटकका लागि आचार्यले थुप्रै मेलोडीका ट्र्याक बनाएका छन् भने साउन्ड इफेक्टको काम अक्सल होगेनहउले गरेका हुन् । कम्प्युटर साइन्स, फिलोसफी, फोटोग्राफी पढेका अक्सलले फाइन आर्टमा मास्टर डिग्री गरेका छन् । उनले थियटरमा काम गरेको भने १० वर्ष मात्रै भयो । ‘यस नाटकमा धेरै चुनौती छन् । यसमा मैले साउन्ड डिजाइनको काम गरेको छु, केशवसँग । केशव निकै उत्तम कम्पोजर म्युजिसियन हो,’ अक्सल भन्छन्, ‘यो नाटकमा काम गर्दा मैले आनन्द महसुस गरेको छु । यसमा दर्शकलाई नयाँ अनुभूति गराउन मैले केही सफ्टवेरको विकास र एम्पिकेसन पनि बनाएको छु ।’
यो नाटकको नाम सुन्नेबित्तिकै मलाई लागेको थियो, यो नाटक कुनै गुड्ने साधनको पनि प्रयोग गरिएको छ, तर त्यस्तो रहेनछ । निर्देशक ढकालका अनुसार, यस नाटकमा दर्शकले स्वाद लिने घिउ, खुदो, मही आदि पञ्चामृतको संकेत रहेछ ।
यस नाटकमा हातले या शरीरका कुनै अंगले छोएर महसुस गर्ने वस्तुको भने अभाव खड्कन्छ । वास्तवमा हलभित्र प्रवेश गरिसकेपछि दर्शकले खोजेर छुवाइमा भेटिने कुरा केही छैन भन्दा हुन्छ । भिन्नभिन्न कलात्मक आकार वा आकृतिको छुवाइबाट भय वा आनन्दको आभास गराउन सकिने ठाउँ थियो । अर्कोतिर, जहाँ संगीत वा ध्वनि बजिरहेको थियो, त्यहाँ सोही अनुसारका वस्तु भइदिएको भए स्पर्शबाट दर्शकले नयाँ अनुभूति गर्न सक्थे ।
Source: Setopati