उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
शनिबार साँझ उनले उक्त घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। बिहीबार राति परेको भारी वर्षापछि रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोले १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। ६ जना भारतीय नागरिक हुन्।
तीमध्ये तीन जनाको शव समेत फेला परिसकेको छ।
प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री ज्यू गत बिहीबार राति भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत हुनुभएको छ,’ उनको सचिवालयले लेखेको छ, ‘उहाँले यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।’
Source: Setopati