भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्याएको छ।
मन्त्री ज्वालाले मकवानपुरको बाग्मती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङ्तानको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् भने सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन्।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ।
सडक भासिएपछि आवतजावत पूर्णरूपमा बन्द भएको छ। बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका छन्।
निर्माणधीन सिद्धबाबा सुरूङ मार्गको उत्तरतर्फको मूल गेटनजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरूद्ध बनेको छ। अवरूद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरूलाई निर्देशन दिएका छन्।
Source: Setopati