|

कोशीमा डराएको एमाले : बजेटमा दुई दिन विरोध , अन्तिममा सहयोग

झापा । कोशीमा मध्यावधिदेखि डराएको नेकपा एमालेले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा सहयोग गर्दा संसदबाट सर्वसम्मत पारित भएको छ ।

पहिलो चौमासिक सकिँदा अध्यादेशलाई प्रतिस्थापन गर्न आएको विधेयक बुधबार सर्वसम्मत पारित गरेको हो । अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्न ९ मंसिरमा मुख्यमन्त्री एवं आर्थिक मामिलामन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको बजेटमाथि एमाले र राप्रपाले सुरुमा विरोध गरे ।

उनीहरूले पारित हुनै नदिने गरी विरोध गरेका थिए । एमाले र राप्रपाले भने बजेट पारित नगर्ने र सरकार नै संकटमा पर्नेसम्मको चेतावनी दिएका थिए । तर, एमाले र राप्रपाले समर्थन नगर्दा र एमालेले सरकारलाई दिएको समर्थ फिर्ता लिँदा कोशीमा मध्यावधिको खतरा छ । त्यही कारण अन्तिम समयमा एमालेले बजेटमा समर्थन गरेको स्पष्ट हुन्छ ।

विनियोजन विधेयकमाथि सोमबार र मंगलबार भएको छलफलमा एमालेले पार्टीगत रुपमा मात्र नभएर ठूलो संख्यामा सांसदहरुले पनि तीब्र आलोचना गरेका थिए । एमालेकै शैली पछ्याउँदै राप्रपाले पनि विरोध गर्यो । छलफलमा बोल्ने ३१ सांसदमध्ये सत्तापक्षकै कतिपय सांसदले पनि बजेटको आलोचना गरेका थिए । यथास्थितिमा बजेट पास गर्न दिन नहुने पक्षमा अधिकांश सांसद उभिएका थिए । तर, अन्तिम समयमा बजेट पारित गर्नुपर्ने बाध्यता आइपर्यो ।

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले आक्रोशित भएका एमाले नेताहरु साँझ मुख्यमन्त्रीसँग छलफलमा बसे । मुख्यमन्त्रीले कार्कीले एमालेले ल्याएको बजेटमा केही कार्यक्रम थपघट गरेको बताए । उनले यसमा कुनै सम्झौता नगर्ने तर्क अघि सारे । एमालेको विरोध भए पनि बजेट पास हुन्छ भन्नेमा उनी ढुक्क थिए । राप्रपालाई सांसदलाई बजेट पास गर्न सहयोग गर्नेगरी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिइसकेका थिए ।

त्यसपछि एमाले पनि पछि हट्दै बजेट पारित गर्न तयार देखियो । ‘यो संसदीय प्रक्रिया हो, मुख्यमन्त्री नम्र रुपमा प्रस्तुत भएपछि हामीले पारित गरेका हौं, होइन भने हामीसँग बजेट फेल गराउने सामथ्र्य थियो,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने ।

Similar Posts