|

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?

ad

ईखरीपाटी विशेष
बिर्तामोड ।
जब छोराले ३० मिनेटमै मिलमा लगेर ४० केजी धान पिसाएर ल्याए तब इलाम रोङ गाउँपालिका–१ की जीवनकुमारी राई छक्क परिन् ।

उनलाई सपना जस्तै लागेको छ । किनकि पहिला घण्टौँ लाग्ने धान केही छिनमै धानबाट चामल बन्यो । ‘तपाईंहरूलाई के थाहा उबेला बिहान तीन बजे नै उठेर ६ बजेसम्ममा ८ पाथी धान कुटेर बाहिरको काममा जानु पथ्र्यो, अहिले त समय कति परिवर्तन भयो ?’ उनले जाँतो, ढिँकी सम्झँदै भनिन् ‘ अहिलेकालाई त कथा हुन्छ तर पहिले सबै अन्न कुट्ने, पिस्ने ढिँकी र जाँतोमै हो, हरेक दिन जाँतो नचालाएको, ढिँकी नकुटेको दिन थिएन ।’

गाउँघरमा मिल थिएन । सहरसम्म लानका लागि साधन र बाटो थिएन । त्यही काराणले पनि ६० को दशकसम्म पनि ढिँकी जाँतो गर्ने बध्याता महिलाहरूमा रहेको बताउँछन्, इलाम श्रीअन्तु इलामका नेत्र घिमिरे । ४० को दशबाट पानी–मिल सुरु भए पनि सबैलाई पायक नपर्ने ठाउँमा मात्र हुने गरेकाले ढिँकी जाँतोमा नै अन्न कुट्ने बाध्यता रहेको उनी सम्झिन्छन् ।

अग्रजका अनुसार कुटानी–पिसानीका लागि जति धेरै काम भए पनि ढिँकी, जातो र ओखलको सहारा लिनुपथ्र्यो । तेल पेल्नुपर्दा कोलबाहेक अरू विकल्प थिएन । कुटानी–पिसानीकका यस्ता उपकरणहरू प्रत्येकको घर–घरमा हुन्थे । तर, अब त्यस्तो रहेन । कुटानी–पिसानीका आधुनिक प्रविधिहरूको तीव्र विकाससँगै कुटानीमा प्रयोग हुने ढिँकी र ओखल, पिसानीमा प्रयोग हुने जातो पानीघट्टा र तेल पेल्न प्रयोग गरिने कोलजस्ता उपकरण बजारमा त कतै देख्न पाइँदैन नै गाँउ घरबाट समेत लोप भइसके ।

तीव्र प्रविधिको विकाससँगै यस्ता खाले नेपाली परम्परागत वस्तुहरूको अस्तित्वनै मेटिन लागेकोमा धेरैले चिन्ता गर्ने गरेका छन् । माई नगरपालिका–५ की देवीमाया सेन्च्युरी आफ्नो विगतलाई यसरी सम्झन्छिन्, ‘एक मुरी धान उज्यालो हुँदा ढिँकीमै कुटिसक्नु पथ्र्यो मकै, कोदो, गँहु घरमै राति पिसिन्थो हाम्रा पालामा धेरै दुःख थियो । तर, अहिले समयले कोल्टे फेरेछ ढिँकी जातोको त नाम–निसाना नै मेटिसक्यो ।’ अहिले उनकै घर नजिक विजुलीले चल्ने मिल छ । त्यसैले उनका छोरा–बुहारी, नातिनातिनाले कुनै झन्झट व्योहोर्नुपरेको छैन ।
अहिले ग्रमिण भेगका कुना–कुनामा पनि विद्युत, डिजेल र पानीबाट चल्ने आधुनिक उपकरण उपलब्ध भइसकेका छन् ।

त्यसैले देवीमाया मात्र होइन गाँउघरका मानिस कुटानी–पिसानीका परम्परागत वस्तुहरूबाट टाढा भएका छन् । स्थानीयवासीहरू भन्छन्–‘आधुनिक प्रविधिको बढ्दो प्रयोगले अहिलेका पुस्तालाई परम्परागत प्रविधिका बारेमा जानकारी त हुँदैन नै सुविधामुखी र अल्छे प्रवृति समेत बनाएको छ ।

बिहान ७ बजेसम्म सुत्ने, धेरै समय इन्टरनेटमा बिताउने, सामाजमा घुलमिल नहुने, नेपालका परम्परागत कुराहरूबारे चासो नराख्ने कुरा गरे रिसाउने, झर्कने नयाँ पुस्ताका कारण परम्पारा लोप हुने अवस्थामा पुगेको झापा अर्जुनधाराका नारायण अधिकारी बताउँछन् ।

परम्परागत घरेलु उपकरणबाट तयार गरिएका खानेकुराहरूको स्वाद नै बेग्लै हुने वुढापाकाहरूको भनाइ छ । तर, अहिले त्यस्ता साधनहरूनै लोप भएर जाँदा उनीहरू चिन्तित छन् ।
हुन पनि हो गाँउ घरमा त्यस्ता उपकरण भेटिन गाह्रो हुन्छ एक दुइवटा भेटिहाले पनि प्रयोग विहिन देखिन्छिन् ।

Similar Posts