जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने?

बच्चा जन्मेको पहिलो एक वर्ष उसको जीवनको सबैभन्दा संवेदनशील समय हो।
गर्भभित्र सबै चिज आमाको शरीरबाट प्राप्त भएको हुन्छ। जन्मपछि अचानक नयाँ वातावरणमा भिज्न सिक्नु पर्छ। आफ्नै शरीरको शक्तिमा जीवनको निर्भरता बढाउनुपर्छ।
एक वर्षभित्रको बच्चाको दिमाग विकसित नहुने भए पनि आंशिक रूपमा केही गुण विकसित भएको हुन्छ।
नवजात शिशुमा केही मात्रामा मुख्य रूपमा पाँच वटा गुण विकास भएको हुन्छ– बासना लिने, स्वाद लिने, सुन्ने, छोएर महसुस गर्ने र नजिकैको दूरीमा देख्ने। नवजात शिशु पूर्ण रूपमा आमामा भर पर्ने भएकाले उसले रोएर, हाँसेर वा ससानो आवाज निकालेर सूचना गर्छ। यसो गर्दा अभिभावकहरूको ध्यानाकर्षण हुन्छ।
विशेष गरी पहिलो तीन महिना बच्चाको वरपर रहनु, उसलाई सुम्सुम्याउनु र समयमा दूध दिनु आवश्यक हुन्छ। शिशुको शरीर र दिमाग दुबै कोमल, संवेदनशील हुने भएकाले हलुका तरिकाले समाउनु वा बोक्नुपर्छ। यस्तो तरिका सिक्न पनि आवश्यक हुन्छ।
सुत्ने ठाउँ चिसो हुनु हुँदैन, तातो पनि धेरै हुनु हुँदैन, न्यानो हुनुपर्छ। न्यानो र नरम कपडाको सुत्ने ओछ्यान बनाउनुपर्छ।
विशेष गरी टाउकोको भागमा केही नरम लुगा या पातलो सिरानी राखेर, केही नरम कपडा बिछ्याएर सुताउनु राम्रो हुन्छ।
पहिलो तीन महिना बच्चा यताउता चल्न नसक्ने हुन्छ। बच्चा जन्मेपछि उसको पहिलो संघर्ष गर्भबाहिरको वातावरणमा मिल्न र आफैंले खाएर बाँच्न सिक्नका लागि हुन्छ। यिनै दुई कुराका लागि बच्चा रूने गर्छ। बच्चा आफूलाई असुरक्षित महसुस गरेको वा खाना चाहिएको अवस्थामा रून्छ। आमाबाबुको प्रमुख जिम्मेवारी नै बच्चाका लागि प्रशस्त पौष्टिक पदार्थयुक्त खानाको व्यवस्था मिलाउनु हो।
बच्चालाई सुरक्षित महसुस गराउन र इन्फेक्सन अर्थात संक्रमणबाट बचाउन पनि आवश्यक हुन्छ। बच्चा पहिलो पटक अक्सिजन लिने र स्वासप्रश्वास गर्ने प्रक्रियामा रून्छ। यस काममा सुरूमा पीडा हुने भएकाले रूने हो। त्यसपछिका रूवाइ वा आवाज धेरै जसो खानाका लागि हुन्छ। खानाका लागि आवाज निकालिरहनुमा धेरै खाएर बढ्ने, हुर्कने र छिट्टै आत्मनिर्भर बन्ने बालमनोविज्ञान मुख्य कारण हुन्छ।
बच्चाको शारीरिक विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा खाना र सुताइ हो। जन्मनासाथ शक्ति जम्मा गर्न बच्चा आमाको दूध चुस्न हतारिएको हुन्छ। बच्चा जन्मने बित्तिक्कै आउने आमाको दूधमा पौष्टिक पदार्थ धेरै हुन्छ। थोरै दूधले पनि धेरै शक्ति प्राप्त हुन्छ।
आमाको दूधमा बच्चाका लागि रोग प्रतिरोधात्मक शक्ति पनि धेरै हुन्छ। त्यसैले त आमाको दूध अमृत समान मानिन्छ। कम्तीमा पहिलो एक वर्ष आमाको दूध खाएको बच्चाले पौष्टिक पदार्थ राम्ररी पाएको हुन्छ। उसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।
बच्चाका लागि आमाको दूध जति उत्तम खानेकुरा अर्को हुँदैन। बच्चा छ महिनाको भएपछि नरम खाना खुवाउन सुरू गर्नुपर्छ। खानासँगै कम्तीमा एक वर्ष स्तनपान गराउनुपर्छ।
पेट सानो हुने भएकोले बच्चाले एकै पटक धेरै दूध पिउन सक्दैन। पटक–पटक खाइरहनु पर्ने भएकाले रोएर वा कुनै आवाज निकालेर अभिभावकलाई सूचना गर्छ। पहिलो तीन महिना तीन–तीन घन्टामा र त्यसपछि बिस्तारै चार–चार घन्टामा दूध खुवाउनुपर्छ।
बच्चाका लागि खानाको समय तालिका बनाएर खुवाउने गरेमा बच्चा त्यसमै बानी पर्छ।
पहिलो तीन महिना बच्चालाई दिन र रात वा कुनै समयको ख्याल हुँदैन। यो तीन महिना बच्चाले विशेष गरी खाने, दिसापिसाब गर्ने, सुत्ने र आमाबाबुको नजिक रहेर सुरक्षित महसुस गर्ने मात्र गर्छ। उसको मुख्य काम नै खानाबाट प्रशस्त पौष्टिक पदार्थ आर्जन गरेर शरीर वृद्धि गर्नु हो।
बच्चालाई खाना कति दिनुपर्ने हो भन्ने कुरा उसको शारीरिक वृद्धि हेरेर थाहा पाउनुपर्छ। उसको तौल र लम्बाइ ठीक ढंगले बढेको छ छैन भन्ने थाहा पाउन स्वास्थ्य केन्द्र जानुपर्छ। बच्चाको उचित पोषणका लागि स्वास्थ्यकर्मीको परामर्श पनि लिन सकिन्छ। बच्चा दस वर्षको नहुँदासम्म उसको उचित पोषणमा ध्यान दिनु अति आवश्यक हुन्छ।
बच्चाले स्तनपान गर्दासम्म उसको शारीरिक वृद्धि परीक्षणको परिणामअनुसार आवश्यक पौष्टिक पदार्थ पुर्याउन आमाको पोषणमा पनि पनि ध्यान दिनुपर्ने हुनसक्छ। आमाको पोषण राम्रो नभएमा बच्चालाई कुपोषण हुनसक्छ। आमाको दूधको परिमाण गर्भवती अवस्थाको र सुत्केरी भएपछिको भोजनमा पनि भर पर्छ। आवश्यकताअनुसार पोषण प्राप्त गरेकी आमाबाट जन्मने बच्चा स्वस्थ हुन्छ, कुपोषण हुँदैन।
थाहा पाउनुपर्ने कुरा के पनि छ भने बच्चा रूनुको अर्थ भोक लाग्यो भन्ने मात्र होइन। सुरूमा बच्चालाई खाना पचाउने समस्या हुन सक्छ। यसकारणले पेट दुख्ने हुन्छ। यस्तो अवस्थामा पनि रून्छ। बच्चाले सुरक्षाका लागि आफू वरिपरि मानिसहरू खोज्छ। नजिकमा कोही छैन भन्ने लागेको अवस्थामा पनि बच्चा रून्छ। यस बेला कसैको स्पर्श पाएमा वा आवाज सुनेमा ऊ शान्त हुन्छ। आमाबाबु र अभिभावकले बच्चा किन रोएको हो भन्ने थाहा पाउनुपर्छ।
बच्चाको शारीरिक विकास र वृद्धिमा उसको सुताइको धेरै महत्व हुन्छ। सुतेको बेला दिमागले पूर्ण रूपमा आराम गरेको हुन्छ। यस बेला शरीर वृद्धिका लागि आवश्यक हर्मोन उत्पादन हुन्छ। सुतेकै बेला बच्चाले दिनभरि सुनेको कुरा सम्झने र दिमागमा सञ्चय गर्ने काम गर्छ।
पूर्ण आराम पाउँदा मात्र मानिसको दिमागले राम्रो काम गर्छ। यसकारण पनि बच्चाको सुताइ उसको जीवनका लागि धेरै महत्वपूर्ण हुन्छ।
सुत्ने ठाउँको वातावरण अर्को महत्वपूर्ण पक्ष हो। सुत्ने ठाउँ अत्यन्त शान्त हुनुपर्छ। शान्त सुताइले बच्चाको दिमागको विकास चाँडो हुन्छ। बच्चा जन्मिने क्रममा आमाको मात्र होइन उसको पनि शक्ति खर्च भएको हुन्छ। आमाको दूध पाएपछि ऊ शक्ति सञ्चय गर्न केही दिन दैनिक २०–२२ घन्टा सुत्छ। यसपछि पहिलो एक वर्षमा १५ देखि १८ घन्टासम्मको सुताइ आवश्यक पर्छ।
पहिलो तीन महिनालाई संवेदनशील मान्नुको अर्थ बच्चाको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुनु पनि हो।
बच्चालाई बाहिरी किटाणु (भाइरस र ब्याक्टेरिया) को संक्रमण हुने र जटिल बिमारी पर्ने हुन सक्छ। जन्मको पहिलो तीन महिनामा रोगसँग लड्ने क्षमता कम हुन्छ। धेरै जसो खोप जन्मको तीन महिनापछि मात्र सुरू गरिने भएकोले सकेसम्म बच्चालाई धेरै मानिसको प्रत्यक्ष सम्पर्कमा नराख्नु, भिडभाडमा नलैजानु राम्रो हुन्छ।
धेरै किटाणु मानिसबाटै सर्ने हुन्छन्। आमा र बच्चाको रेखदेख गर्ने व्यक्तिले पनि बच्चा समाउनुअघि हात सफा गर्ने बानी गर्नुपर्छ। परिवारका कुनै सदस्यलाई कुनै रोगको लक्षण देखापरेमा बच्चा र आमाको नजिक नजाने बानी गर्नुपर्छ।
बच्चालाई रूघाखोकी लाग्न सक्छ। केहीबाहेक रूघा लगाउने धेरै जसो भाइरस सामान्य लक्षण दिने र प्राणघातक हुँदैनन्। यसो भए पनि बच्चालाई रूघाखोकीबाट जोगाउनु राम्रो हुन्छ।
ब्याक्टेरियाको संक्रमण चाहिँ खतरा हुन सक्छ। बच्चालाई रूघा लागेको छैन र ज्वरो मात्र धेरै आएको छ भने ब्याक्टेरियाको इन्फेक्सन भएको हुनसक्छ। यस्तो अवस्थामा तुरून्तै अस्पताल लैजानुपर्छ। भाइरस वा ब्याक्टेरिया जे भए पनि पहिलो तीन महिना बच्चालाई धेरै ज्वरो आएमा, दूध नखाएमा, धेरै रोएमा अस्पताल लैजानुपर्छ। समयमा उपचार नपाए संक्रमणबाट बच्चाको जीवन गुम्ने डर हुन्छ।
रूघा लाग्ने र नाक टालिने समस्या आइरहन आउनसक्छ। यो सामान्य नै हो, आत्तिनु पर्दैन।
यी सबै पक्ष ख्यालमा राखेर बच्चाको हेरचाह गरी उसलाई स्वस्थ जीवन दिनुपर्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा पिएचडी गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
Source : Setopati
hello there and thank you for your info – I have definitely
picked up something new from right here. I did however expertise several technical issues using this web site, as I experienced to reload the site
a lot of times previous to I could get it to load properly.
I had been wondering if your web host is OK? Not that I am complaining, but sluggish loading instances times will often affect your
placement in google and could damage your high quality score if ads and marketing with Adwords.
Anyway I’m adding this RSS to my email and could look out for much more
of your respective fascinating content. Make sure you update this again very soon..
Escape room lista
Very interesting subject, regards for posting.!