| |

केरा खाने हैन ? बरफल्याङ जानुस् !

ad

रोङ । कुनै समय रोजगारी लागि नरबहादुर गजमेर भौतारिँदै हिँड्थेँ ।  तर, उनी अहिले केरा खेतीमा व्यस्त छन् । खेतमा रोपेको मकै, कोदोले तीन महिना पनि नपुगेपछि उनले खतीमा विकल्प खोजेका थिए । उनको रोजाइमा केरा खेती परेको छ । रोङ-२ का गजमेरले उ ३ विघामा केरा खेती गर्दै आएका छन् । गजमेर जस्तै इलामको रोङ २ का अधिकांश कृषको मुख्य आयस्रोतको रूपमा केरा खेती रहेको छ ।

कुनै समय के खाउ के लाउ भन्ने पिरमा बाँच्ने रोङ–२ बरफल्याङबासी अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन् । २०४५ सालतिर चाड पर्वमा खानका लागि रोपिएको केरा अहिले उनीहरूको गर्जो टार्ने गतिलो माध्यम बनेको छ ।
केही वर्षअघिसम्म सिँचाइ अभावमा जमिन बाँझै राख्ने इलामको रोङ–२ का स्थानीयको खेतबारी अहिले कतै खाली छैन । स्थानीय कृषक टंक अधिकारीले भने, ‘४५ सालतिर बारीको डिलमा रोप्ने गरेका थियौँ ।  राम्रो भएपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थालिएको हो ।’

सुपारी र केरा बहुतले खेतीको रूपमा रोप्ने गरेको अधिकारीले बताए । केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यवसायिक रूपमै गर्न थालेका छन् । हाल रोङ २ को बरफल्याङ, दूधे, बगैँचा, धनसार क्षेत्रका बासिन्दाले व्यवसायीक रुपमा केरा खेती गरिरहेका छन् ।  कृषकले स्थानीय जातका लाल, भण्डारी, घिउ केरा र उन्नत जातको सिंगापुरीया केरा लगाएको कृषक अधिकारी बताए । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेती समेत गर्न सकिने भएपछि सबै खेतबारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालले बताए ।

किन्नका लागि व्यापारी घरघरमा आउने गरेकाले बजारको कुनै समस्या नभएको कृषक मनोज दाहालले बताए । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् । व्यापारीले प्रति घरी एक सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्ममा किन्ने गरेको कृषक नथुनीदास चौधरीले बताए । चौधरीले भने, ‘लगभग ३ विघामा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ ।’

केरमा अरू ठूलो रोग नदेखिए पनि गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने गरेको कृषक कर्ण खड्काले बताए ।
प्रशस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसको रूपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट पचास भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरिएको छ  ।

केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटीलगायत चारदर्जन बढी परिकार बनाउन सकिने स्थानीय कृषकले बताए ।
विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका २ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ ३ सय भन्दा बढी कृषकले व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरूले न्यूनतम् ३ रोपनी देखि ३ विघा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकठ्ठा वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्रीसमेत गर्न थालेका छन् । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।

Similar Posts