जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’
ईखरीपाटी विश्लेषण
झापा / जनता समाजवादी पार्टीको पहिलो नारा पहिचानसहितको संघीयता हो । उसले पहिचानसहितको प्रदेशको नामांकनलाई जोडतोडका साथ उठाउने गरेको छ । गत फागुनमा प्रदेश–१ को नाम कोशी नामांकन भएयता जसपा नेता÷कार्यकर्ता सडकमा छन् । तर, कोशीको सत्तामा सधैँ जसपा छ । अचम्मको कुरा त जसपा सत्तामै हुँदा प्रदेशको नाम कोशी रह्यो ।
कोशी नाममा आपत्ति जनाउँदै संसदमा रुने जसपाकी एक मात्र प्रदेश सांसद निर्मला लिम्बू त्यसपछि पनि करिब तीन महिना कोशी नाम राख्ने मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा मन्त्री बनिन् । त्यति मात्र कहाँ होर मन्त्री पद खुस्किएपछि पनि लामो समयसम्म त्यही कोशी सत्ताले उपलब्ध गराएको मन्त्री क्वाटरमा बसिरहिन् । जसले जसपाको पहिचानको मुद्दा ‘ढोँग’ र उनको आँशु ‘गोहीको आँशु’ भन्ने पुष्टि गर्छ ।
त्यसपछि एमाले सरकार ढल्यो । एमाले सरकारमा १४२ दिन सत्तामा बसेकी निर्मला कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारमा पनि २३ दिन मन्त्री बनिन् । भलै उद्धवको सरकारलाई अदालतले ढाल्यो । यसअघि एमालेका हिक्मतकुमार कार्कीले पहिचानको आधारमा प्रदेशको नामांकन नगरकेको भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । तर, त्यही कोशी नामको पक्षमा मत खसाल्ने थापा नेतृत्वको सरकारलाई जसपाले समर्थन मात्र दिएन निर्मला त मन्त्री नै भइन् ।
हिक्मत कार्की मुख्यमन्त्री भइञ्जेल जसपाका कार्यकर्ताले गाडीमा ढुंगामुडा पनि गरिरहे । अहिले मुख्यमन्त्री केदार कार्कीलाई पनि जसपाको समर्थन कायमै छ । पहिचानको आधारमा प्रदेशको पुनःनामांकन हुने अवस्था पनि छैन । प्रदेशको पुनः नामांकनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । हुन त एक्ली सांसद निर्मलाको केही लाग्दैन । तर, पहिचानको आधारमा प्रदेशको नामंकन नभएको भन्दै सदनमा मन्त्री भएकै अवस्थामा रुने निर्मलाले नैतिकता देखाउन सकेकी छैनन् । जसपा र उनका लागि कोशीमा सत्ता प्यारो बनेको छ । न सत्ताबाट जसपा कोशीमा कहिल्यै बाहिर बस्न सक्यो न त पहिचानको आधारमा प्रदेशको नामांकन भएन भनेर गरिएको आन्दोलनबाट पछि हट्न सक्यो । कोशीमा जसपाको दोहोर चरित्र देखिएको छ । जसपाले साञ्चै सशक्त ढंगले पहिचानको आधारमा प्रदेशको नामांकन मागेको भए उसले कोशीको सत्तालाई समर्थन नगर्नसक्थ्यो । तर, न सत्ताबाट बाहिर बस्न सक्छ न त कोशी नाम नै स्वीकार्न सकेको छ । निर्मला फेरि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा पनि छ । तसर्थ जसपाका लागि कोशीको सत्ता ‘माया बैगुनी, नभई नहुने’ जस्तो भएको छ ।
Very interesting points you have remarked, regards for posting.Raise range