|

युएई र बंगलादेश यू–१९ एसिया कपको फाइनलमा

ad

काठमाडौं । एसिसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेश फाइनलमा प्रवेश गरेको छ। आज दुबईमा भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्‍यो। 

बंगलादेशका लागि शरिफुल इस्लामले ९४ रनको योगदान गरे। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै अहर अमिनले ४४ रनको योगदान गरे। 

बलिङमा भारतका नमन तिवारीले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारत ४२.४ ओभरमा १८८ रनमै अलआउट भयो। 

कुनै बेला ६ विकेट गुमाउँदा ६१ रन बनाएको भारतका लागि मुशीर खानले ५० रन र मुरुगन अभिषेकले ६२ रन बनाएपछि भारतको रन स्कोर बढेको थियो। भारतका ओपनरसहित ६ ब्याटर दोहोर अंकमा रन जोड्न नपाई आउट भएका थिए।

बलिङमा बंगलादेशका मारुफ मृधाले ४ विकेट लिए भने रोहानत बोर्सन र शिख जिबोनले २-२ विकेट लिए।

अब उपाधिका लागि बंगलादेशले युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा पाकिस्तानलाई  ११ रनले पराजित गर्‍यो। 

पहिले ब्याटिङ गरेको युएई १९३ मा अलआउट भयो। जवाफी ब्याटिङ गरेको पाकिस्तान ३ बल खेल्न बाँकी छँदा १८२ रनमा अलआउट भयो।

Similar Posts