नेपाल प्रहरी श्रीमतीसँगले दियो दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा
दमक । नेपाल प्रहरी श्रीमती संघले झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ । नेपाल प्रहरी श्रीमती संघ, कोशीले उक्त विद्यालयमा अध्ययनरत १२ जना दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको हो ।
संघ कोशीले प्रत्येक विद्यार्थीलाई एक थान कम्बल, विद्यालय पोशाकलगायत शैक्षिक सामग्री उपलब्ध गराएको हो । दृष्टिविहीन बालबालिकालाई सरस्वती माविले आवसीय सुविधासहित अध्यापन गराउँदै आएको छ । उक्त सहयोग सामग्री संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रूपा थापा, प्रदेश अध्यक्ष अजिता देवकोटा बाँस्तोला, प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलालगायतले हस्तान्तरण गरेका थिए । यस्तै, संघकी उपाध्यक्ष रूपा थापाले दृष्टिविहीन बालबालिकाको खानाका लागि दश हजार रुपैयाँसमेत सहयोग विद्यालयलाई उपलब्ध गराएकी थिइन् ।
कपडा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यसरी न्यानो कपडा वितरण गरेर दृष्टिविहीन विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताइन् । उनले बढ्दो चिसोका कारण प्रभावित भएका गरिब वृद्धवृद्धा, बालबालिका तथा असाहयलाई सहयोग गर्दै श्रीमती संघ अघि बढ्ने बताइन् । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईले दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गर्दै सहयोग गरेकोमा नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिए ।
सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको र संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । नेपाल प्रहरी श्रीमती संघ, कोशी अध्यक्ष अजिता देवकोटा बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रम इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले सञ्चालन गरेका थिए ।