| |

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा


शम्भु दाहाल
बिर्तामोड ।
एकनासले टाउको निहुर्याएर डोरीको पोया बाट्दै गर्नुभएका अर्जुनधारा–१० का पदमबहादुर राईलाई को आयो ? को गयो ? मतलब छैन । मतलव छ त बाँस काट्ने, खिप्ने, मुडा बुन्ने ।

राई विगत २० वर्ष आफ्नै घरैमा मुडा उद्योग संञ्चान गर्दैछन् । अर्जुनधारा–१० र मेचीनगर १२ मा रहेको कालिझोडा गाउँलाई कुनै समय ’मुडाको गाउँ’ उपनामले चिनिन्थ्यो ।

त्यहाँ करिब तीन सय घर छन् । कोरोना महामारीपछि भएको लकडान अगाडिसम्म दैनिक पाँच ट्रकसम्म मुडा उत्पादन हुँदै आएको थियो । तर, अहिले मुडा उत्पादन गर्नेको व्यवसाय नै धरापमा परेको छ । अहिले दैनिक एक ट्रक पनि मुडा उत्पादन गर्न समस्या हुने गरेको राई बताए ।

कच्चा पदार्थको मूल्य बढेर छुनै नसक्ने भयो । तर, ६ वर्षदेखि मुडाको मूल्य वृद्धि नहुँदा काम गर्न नै मुस्किल भएको मेचीनगर–१२ की मुडा व्यावसायी नेत्रकुमारी कोइरालाले बताइन् । “पहिले सयकडा १५ रुपैयाँ पर्ने मुडाको सिन्का अहिले २५ रुपैयाँ पुगेको छ, टायर पहिले १२ रुपैयाँ पर्ने अहिले २२ रुपैयाँ पर्छ । एक सय रुयैयाँमा पाउने प्लाष्टिकको डोरी अहिले ३ सय ३० रुपैयाँ केजी पुग्यो । मुडाको दाम होलसेलमा विगत ५÷६ वर्षबाट करिब १७ सय दर्जन मात्र छ,“ कोइरालाले भनिन् ।

मुडाको मूल्य वृद्धि नभएकै कारण घरको मुडा उद्योग बन्द गरेर अरूको मुडा बुन्ने काम गर्न थालेको स्थानीय देवीमाया मगरले बताइन् । मुडामा बुट्टा लाउने काम गर्ने मगरले दैनिक ५० वटासम्म मुडामा बुट्टा लागाए दैनिक ५पाँच सयसम्म कमाउँछिन् । एउटा मुडामा २० रुपैयाँ नाफ पनि बच्न छाडेपछि समस्या आएको उनले बताइन् ।

मुडा व्यावसायबाटै पक्की घर बनाएर दैनिक पाँच जनालाई रोजगारी दिईरहेका पदमबहादुर राईले राज्यले मुडा उत्पादकलाई बेवास्ता गरेको आरोप लगाए । “उमेरले डाँडो काटेर मात्र नभए म पनि विदेश जाने थिएँ । धेरै मुडा व्यवसायी विदेश भासिन बाध्य छन्,“ उनलेभने ।

आर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिका बीच सीमा विवादको चेपुवामा छ, कालिझोडा । जसका कारण मुडा व्यवसायीले कुन स्थानीय तहलाई दुखेसो पोख्ने हो थाहा छैन । त्यही कारण स्थानीय तहले राहतको प्याकेज दिनसकेका छैनन् । मेचीनगर– १२ का वडाध्यक्ष मधु निरौलाले भने, “कालिझोडा सबै हाम्रो भन्छौँ, अर्जुधाराले पनि त्यहीभन्छ ।

यही विवादको कारण मुडा व्यवसायी विस्थापित हुने अवस्थामा समेत केही गर्न सकिएको छैन ।“
त्यहाँका आधा जति नागरिकको नागरिकता र भोट लिस्ट मेचीनगरतिर र आधा जतिको अर्जुधारा नगरपालिकातिर रहेको स्थानीय रामकुमार राईले बताए । अर्जुधारा नगरपालिका प्रमुख बलदेव गोम्देनले कालिझोडा अर्जुनधारा भएकाले मुडा व्यावसायीका समस्या बुझेर चाँडै हल गर्ने आस्वासन दिए ।

नेपाली बजारमा विदेशी बस्तुको बढ्दो आयातको कारण पनि नेपालमा साना घरेलु उत्पादन बजारमा प्रतिस्प्राधा गर्न कठिन भएको अवस्थामा मुडा व्यवसायीको समस्या हल गर्न केन्द्र सरकारले विषेश पहल गर्नु पर्ने नगर प्रमुख गोम्दनले बताए ।

Similar Posts