काँकरभिट्टा–पानीट्यांकी मेची पुल निर्माण सम्पन्न भएको डेढ बर्षपछि सञ्चालनमा,अब छ लेनबाटै आवतजावत

मेचीनगर ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले वि.सं. २०७३मा मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गरेका थिए ।
एशिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एशियाली विकास बैंक (एडीबी) को एक अर्ब ६० करोड भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण पनि गर्यो ।
तर, पूर्वीनाका काँकरभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आइतबारबाट सञ्चालनमा आएको छ । उक्त पुल सञ्चालनका लागि निरन्तर नेपाल–भारत द्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएका कारण दुवै देशका नागरिकले सास्ती व्यहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।
काँकरभिट्टाबाट भारतको पानीट्यांकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५ सय ७५ मिटर लामो छ । निर्माण सम्पन्न भएको यति समय बितिसक्दासम्म पुल सञ्चालनमा आउन नसक्दा यात्रु सास्ती व्यहोर्न बाध्य थिए भने पुरानो र जीर्ण अवस्थाको मेची पुल अस्तव्यस्त थियो । अब नयाँ पुल सञ्चालनमा आएसँगै धेरैले राहत महशुस गरेका छन् । आइतबार निक्कै तामझामका साथ नेपाल र भारतका अधिकारीहरुले आ–आफ्नोतर्फबाट पुल सञ्चालनको उद्घोष गर्दै उद्घाटन गरेका थिए । जहाँ विभिन्न व्यवसायीसहित सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
नेपालको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय र भारतको पश्चिम बंगाल राज्यको भन्सार कार्यालयका अधिकारीहरुले दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गरेका थिए । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर रीवन काटेर पुलको विधिवत् उद्घाटन गरेका थिए ।
गत ६ पुसमा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको थियो । भारतको पानीट्यांकीमा बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गरेका थिए । सोही सम्झौता अनुसार पुल पूर्णरुपमा सञ्चालनमा आएको हो । एशियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एशियाली राजमार्ग छ लेनको मितेरी पुल सञ्चालनमा आउँदा धेरैमा उल्लास छाएको छ ।
पुरानो पुलबाटै सवारी आउ–जाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको र नयाँ वर्षदेखि पुल सञ्चालनमा आएपछि यी सबै समस्या हल हुने नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ । पुल सञ्चालनमा आए लगत्तै सवारी आवागमन सहज बन्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।
‘काँकरभिट्टानाका भनेको भारत, बंगलादेश तथा भुटान वा सार्क मुलुकलाई जोड्ने नाका हो’– उनले भने– ‘कम से कम पुलबाट विभिन्न मालवाहक सवारीसाधन आवतजावत गर्न पाउँदा व्यापार व्यवसायमा समेत बृद्घि हुनुको साथै आर्थिक कारोवार समेत चलायमान हुन्छ ।’ दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ । पुल उद्घाटनमा जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पर्यटन व्यवसायी, सुरक्षा निकाय, सञ्चारकर्मी, अधिकारकर्मीसहित सर्वसाधारणको उपस्थिति थियो ।
Source: Purwanchal Daily
I’ve bookmarked this page for future reference.