महिलाको मृत्युपछि मनमोहन अस्पताल बिर्तामोडमा ढुंगामुडा, अवस्था तनावग्रस्त
बिर्तामोड । आक्रोशित बनेका मृतकका आफन्तजनहरूले झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा ढुंगामुडा गरेका छन् । अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले सोमबार साँझदेखि अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
सोही क्रममा उनीहरूले बाहिरबाट ढुंगामुडा गर्दा अस्पतालको सिसाहरू फुटेको छ । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उनीहरूले अन्ततः ढुंगामुडा प्रहार गरे । प्रहरीले भने प्रदर्शनकारीमाथि बल प्रयोग नगरेको बताइएको छ ।
अहिले पनि अस्पताल परिसर तनावग्रस्त छ । सडकबाहिर प्रदर्शनकारीको भीड छ, भने प्रहरीले अस्पतालको मुख्य गेट अगाडि सुरक्षा दिइरहेको बताइएको छ । अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो । बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ । अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको छ । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।