भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल
र्वप्रधानमन्त्री एवं सत्तारुढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्द गर्न माग गरेका छन् ।
खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि खेलबाड भएको दाबी गरेका छन् । उनले भनेका छन् ‘एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हाे’ ।
गठबन्धन सरकारले गरेको यो सम्झौताले सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको खनालले बताएका छन् । खनालले अगाडि भनेका छन्, ‘कुनै पनि देशका दुतावासलाई नेपालमा योजना र परियोजनाहरुमा सोझै रकम बाँड्ने अधिकार हुँदैन र त्यस्तो अधिकार कसैलाई दिन पनि सकिन्न । यसकारण उक्तराष्ट्रघाति सम्झौलाई तुरुन्त रद्द गरियोस् । नेपाली जनतासमक्ष माफि मागियोस् । नेपाल र नेपाली जनताको स्वतन्त्र र सार्बभौम अधिकारको रक्षा गरियोस् । अन्यथा नेपाली जनता सरकारका विरुद्ध सडकमा उत्रिन बाध्य हुनेछन् ।’