| |

देशमा देखिएको चुनौती सामना गर्ने उम्मेदवारी : सिटौला

ad

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दावी गरे ।

आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष बन्नेगरि उम्मेदवार बन्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने अहिले त्यसबारे चर्चा गर्नु उचित नभएको प्रतिक्रिया दिए । निर्वाचन परिणाम आएर राष्ट्रिय सभामा पुगेपछि ती प्रश्नको स्वभाविक रूपमा जवाफ आउँने उनको भनाइ थियो ।

उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेकोबारे सोधिएको प्रश्नमा सिटौलाले आफ्नो उम्मेदवारीबारे पार्टीमा विवाद नभएको दावी गरे । आफू सबैसँग बिदा मागेर आइतबार साँझ नै विराटनगर हिँडेको र सबै कुरा बुझ्न नपाएको उनको भनाइ छ ।

राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा जोड दिँदै सिटौलाले आफू त्यसमा लागिपर्ने बताए । नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक रहेको बताउँदै उनले दलहरुबीचमा संसदमा नयाँ समझदारी निर्माण हुनुपर्ने उल्लेख गरे ।

काँग्रेसका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन काँग्रेसले एकताबद्ध भएर अगाडि बढ्ने सिटौलले बताए ।

Similar Posts