|

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन

वीरेन्द्र तामलिंग  

सिक्किम (भारत) र नेपालको काेशी प्रदेशले ९९ किलोमिटर लामो सिमाना साँझा गर्छ र अजंग पहाड़ चिवाभन्ज्यांग र विश्वको तेस्रो भिमकाय उच्च हिमाल कंचनजंगा नेपाल र सिक्किमको सिमानाको रूपमा अवस्थित छ । नेपालपट्टि कञ्चनजंगामा चढ़ने अनुमति पाए पनि हामी सिक्किमेहरू उच्च हिमाल कञ्चनजंगालाई ‘अति पवित्र’ एक आराध्य देवको रूपमा पूजा गर्छौँ र सिक्किमपट्टिबाट चढ्ने अनुमति सरकारबाट दिइँन्दैन । अर्थात् चढ़न निषेध छ ।

यो दुई हिमाल र पहाडले मात्र हाम्रो दुई राज्यको साँध- सिमाना छुटाएको छ । तर, नेपाल र सिक्किमको भौगोलिक बनावट र रहन-सहन, खान-पान, भेष-भुषा, भाषा, जात -जाति, थर – गोत्र,संस्कृति,दस्तुर, परम्पराहरू प्रायः जस्तो एकै छन् अनि नाता -गोता, कुल – कुटुम्ब हितैषी मित्रहरू रहेको ठाउँ हो । दुवै राज्य प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले ग्रामिण पर्यटन क्षेत्रमा पनि दुवै राज्यमा प्रसस्त सम्भावना बोकेकोले ग्रामीण पर्यटन क्षेत्रले पनि सम्बन्ध कसिलो बनाउँछ यसमा कुनै दुईमत छैन ।

नेपाल र सिक्किमको सम्बन्धको बिषयको इतिहास कोट्याउँदा धेरै गहिरैमा जानुपर्ने हुन्छ । तर, सिक्किम र नेपालको सम्बन्ध युगौँदेखिको हो । अनि प्रगाढ़ रहेकोछ, सिक्किमका इतिहासविद् अथवा पूर्वमन्त्री श्री वीरबल सुब्बा भन्नुहुन्छ,’ नेपाल देशको १३ थुममध्ये १ थुम सिक्किमको पश्चिम जिल्ला पहिले गेजिंग जिल्ला र अहिले दुई जिल्ला (गेजिंग र सोरेंग जिल्ला) नेपालको एक थुम रहेको दावी गर्नु हुन्छ।’ समग्रमा भन्नुपर्दा कुनै समय नेपाल र सिक्किम एउटै देश थियो । जे होस्, नेपालका राजनीतिज्ञ, पुराना कलाकारदेखि लिएर अहिलेका गीत/संगीत क्षेत्रका चर्चित कलाकारहरूमा, जस्तै उदय- मनिला सोताङ, मेलिना राई, मिलन नेवार, डा. त्रिशाला गुरुङदेखि फिल्मी जगतका कलाकारहरू,आधुनिक कवि नवराज पराजुलीसहित विभिन्न खेलाडीहरूले सिक्किम नेपालको सम्बन्धलाई प्रगाढ बनाइराखेको छ । हाम्रो सिक्किमका नवदित कलाकारहरूले नेपालमा आयोजना हुने गान र नाचको ठू-ठूला कार्यक्रमहरू (रियलिटी शो)- मा सहभागी जनाएर आफ्नो क्षेत्रमा अघि बड्ने मौका पाएका छन् भने बराबर सम्मान र इज्जत पाउने गरेका छन् ।

नेपालबाट सिक्किम आएर युगौँदेखि सिक्किम र सिक्किमेबीच मैत्री भाव स्थापित गरेर यहाँ धेरै नेपालका नागरिकहरू गाउँबस्ती अनि शहरी क्षेत्रमा बसेका छन् । धेरैकोमा यहाँ सिक्किमको भोटर कार्ड, आधार कार्ड, राशन कार्ड, ड्राइविंग लाइसेन्स पनि उपलब्ध छ, गाडी चलाएर कतिले श्रमिक गरेर जीवन धानी रहेका छन् भने कतिले धेरै सम्पति पनि कमाएका छन् । तर, स्थानीय कसैले तिमीहरू नेपालको हो भनेर हेलाहोँचो गरेको छैन, न सिक्किमको सरकारले अन्याय गरेको छ न त यहाँको नागरिकहरूले ‘नेपालको’ भनेर आवाज उठाएका छन् ।

गाउँबस्तीतिर जमिन कमाएर कुतियादार /अधियादार भएर बसेका छन् तर पूरै इम्मानदारिपूर्वक आफ्नो जिम्मेवार निभाउने गर्छन् , पौराखी छन् सबैले सम्मान र इज्जत र माया गर्छन् । नेपाली नागरिकहरूको सिक्किमको बसाइँको क्रममा कस्तो अनुभव छ भन्ने विषयमा धेरै युट्युबर/ ब्लगरहरूले भिडियो बनाएर अपलोड गरेका छन् त्यो साक्षी नै प्रयाप्त हुन्छ । हाम्रो सिक्किमको नागरिकहरू त त्यहाँ नेपालमा त्यस्तो व्यवसाय गरेर बस्ने त्यति छैन होला जस्तो लाग्छ तर, कहिले कही नेपालतिर पर्यटक भएर घुम्नु जाँदा राम्रै व्यवहार र इज्जत गरेको देख्न पाइन्छ ।

नेपालका सबै कलाकारहरू आए/गए सबैले सिक्किमबाट सोचेभन्दा धेरै इज्जत र इम्मान पाएको जस्तो लाग्छ र सिक्किमबाट नेपाल जाने कलाकारहरूले पनि त्यहाँ सम्मानित भएर आउने गरेका छन् । तर, भर्खरै नेपालको खोटाङ भन्ने ठाउँबाट युट्युबर/ ब्लगर उमा चामलिङ राई बहिनी सिक्किममा पाल्नु भएको थियो । उहाँको ब्लगहरू म पनि हेर्ने र सुन्ने गर्छु । ‘आउनु होस् है, नेपाल खोटाङमा कोदोको बाक्लो जाँड खानु” कहिले उहाँको आमासँग कोदो टिप्दै गरेको अनि कहिले गोरुको मासु खाँदै गरेको भिडियो फुटेज/ब्लगहरू अपलोड गर्नु हुन्थ्यो । तर, उहाँको भर्खरैको सिक्किम बसाइँको क्रममा एउटा भिडियो अपलोड गरेको कारण उहाँ पक्राउ परेको छापामा आएको थियो ‘राज्यको शान्ति, श्रृंखला, एकता,सद्भावना बिथोल्ने प्रयास गरेको आरोपमा नेपाल निवासी युट्युबर उमा चामलिङलाई पुलिसले पक्राउ गरेको छ ।

मुख्य रूपमा चामलिङ नेपालको खोटाङ निवासी हुन् भने उनी केही दिन अघिदेखि सिक्किममा छन् “(हाम्रो प्रजाशक्ति, ३१ दिसम्बर २०२३) कतिपय नेपालको अनलाइन न्यूज पोर्टलहरूले सिक्किमका मुख्यमन्त्री पीएस गोलेज्युको ठाडो निर्देशनमा उमा चामलिङ राई पक्राउ परेको दाबी गरे पनि त्यो सरासर निराधार हो । यसको कुनै प्रमाण छैन ।

वर्तमान अवस्थामा सिक्किम राज्यका सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युको नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले कुनै जातिलाई अन्याय गरेको छैन सबै जा -जाति र धर्मलाई सम्मान अधिकार, न्याय र विकास दिएको छ। यो कसैको आँखाबाट लुकेको छैन, सायद देशको अन्य राज्यहरुमा यस्तो नहोला ।

अहिलेको जमानामा एउटा जातलाई उचालेर अरू जातलाई होच्याए अथवा दबाएर सत्ताको सिढी चढ्नु नसोच्दा हुन्छ । नेताभन्दा जनता अहिले बाँठा छन् उहिले १९औँ शताब्दी ३० वर्षअघि १९९४ तिर चाहिँ जमाना निक्कै पुरानो थियो जनताले पत्याउँथे । तर, यो २१ औँ शताब्दीको जमाना हो, समयले धेरै पछि छोड्यो यो छिप्पेको जमाना हो ढाटनु /छल्नु भनेको आफै नाङ्गो हुनु बराबर हो । वास्तवमा एक जना गेजिंग जिल्लाअन्तर्गत चिंगथांग निवासी शिला राईद्वारा राजधानी गान्तोकको सदर थानामा २९/१२/२०२३ को दिन उमा चामलिङ राईविरुद्ध प्राथमिकी (उजुरी) दर्ता गरेपछि त्यसैको आधारमा उनलाई पुलिसले इंडियन पेनल कोडको धारा १५३ए, १५३बी, ५०५(१), ५०५(२) अन्तर्गत मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको थियो ।

त्यसैलाई निहुँ पारेर नेपालतर्फबाट साह्रै नराम्रो गाली/ गलौज ‘आयो सिक्किमे धोतीहरू थुक्क’ त्यो गाली के कारणले गर्‍यो भन्ने कुरा हामी राम्रोसँग बुझ्छौ तर सिक्किमेहरू धोती लगाउँदैनन् नेपाली नागरिक सरह सामान्य लुगा लगाउने र उत्सवहरूमा जाति अनुसारको भेष – भुषा लगाउने चलन छ तर यहाँको नागरिकले धोती चाहिँ कदापी लगाउँदैनन्, हाम्रो देश पक्कै पनि भारत हो, सिक्किम भारतको अभिन्न अंग हो । हामी भारतीय हौँ हाम्रो देश भारतलाई हामी अति माया गर्छौ, हामी भारतीय भएकोमा हामी गर्व महसुस गर्छौँ, देशको संविधानलाई शिरोधार्य गर्छौँ ।

सिक्किमेहरू जति सायद देशमा अन्य राज्यले हाम्रो देश भारतलाई माया गर्दैन होला जस्तो लाग्छ । देशको राजधानी दिल्लीमा कुनै पनि राष्ट्रिय पर्व मनाउने कार्यक्रम आधादेखि एक घण्टामा समाप्त हुन्छ भने यहाँ सिक्किममा हर्षोल्लासको साथमा राष्ट्रिय पर्वहरू हप्ता दिनदेखि १५ दिनसम्म मनाउँछौँ । नेपालमा जन्म लिनुभएको आदि कवि भानुभक्तको जन्म जयन्ती त्यहाँ कस्तो मनाउनु हुन्छ त्यो हामीलाई थाहा छैन । तर, यहाँ सिक्किममा हर्षोल्लासको साथमा सिक्किममा रहेको बहुजातीय संस्कृतिको झाँकीसहित निकालेर जातीय सद्भावनाको रूपमा पालन गर्दै श्लोक, विभिन्न जातीय नाँच – गान, कविता, कथाहरू दिनभरको कार्यक्रममा समावेश गर्छौँ ।

यो हो हाम्रो जातीय एकता अनि सद्भावना, सिक्किमका पूर्वमुख्यमन्त्री एवं आधुनिक सिक्किम निर्माता स्व नरबहादुर भण्डारीज्युले जहिले भन्नु हुन्थ्यो, ‘सिक्किम ४ जात ३६ वर्णको साँझा फुलवारी हो सधै मिलेर बस्नु पर्छ’ सिक्किमले अहिलेसम्म उहाँको यो भनाईलाई अक्षुण राखेकोछ । यहाँ कुनै जातिले अर्को जातिलाई हेला – होचो गरेको छैन, जातीय दंगा/हिंसा भएको छैन, सबै जातीय पर्वहरू एक-अर्कामा मिलेर मनाउने चलन छ ।

सिक्किमे जात – जातिहरू नङ /मासु स्तो मिलेर बसेकोलाई असामाजिक तत्वहरु, भरौटे/ खेतालाहरूले खल्बलाउनु खोजे पनि सिक्किमेली नागरिक सजक छन् । अनि यसको सूत्रपात कहाँबाट भयो र यसको सही उद्देश्य के थियो ? भन्ने कुरा सिक्किमेली नागरिकहरू सबैले सजिलै बुझेका छन् । यसैलाई लिएर वर्तमान मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिंगज्यु आफ्नो फेसबुक पेजमा लेख्नु हुन्छ, ‘अब सिक्किमे हुनुको भावना जागृत हुँदै जाँदैछ अनि सिक्किम बलियो भएर अघि बड्नेछ । नेपालले दिएको गालीहरू आउने दिनहरूमा सबै सिक्किमे जनताको माया भएर हामी माथि बर्सिने छ, जो सुरु भइसकेको छ ।’

युट्युबर / ब्लगर उमा चामलिङ राईले अपलोड गर्नुभएको एउटा भिडियो ब्लग हेर्दा र सुन्दा उहाँ एक साह्रै जातिवादी सोच भए जस्तो लाग्यो । यहाँ सिक्किममा कसले केको मासु खायो त्यो सोध-खोज हुँदैन आफ्नो इच्छा र जात अनुसार खाने गर्छ यहाँ सबै जात जाति मिलेर बसेको छ । तर, उहाँको यो भिडियोले हाम्रो सिक्किममा त केही फरक पर्दैन तर नेपाल देशमा कुनै न कुनै दिन जातीय हिंसा/दंगा पक्कै पनि हुन सक्ने प्रवाल सम्भावना बडेको छ ।

आफूमाथि प्राथमिकी दर्ता भएपछि सोध – पुछ र कसैसँग सम्पर्क हुनु नदिनु त्यो एक सामान्य कानुनी प्रक्रिया मात्र हो । त्यसलाई यातना दियो भन्नु मिल्दैन । तर, ५ दिन पुलिस रिमाण्डमा रहने न्यायलयको आदेश हुँदा हुँदै उहाँको ज्यानको सुरक्षाको कारण नेपालको सुरक्षा निकायलाई सकुशल जिम्मा लगाउनु भनेको प्रशासनले दिखाएको मानवता र दुई देशको आदर्श सम्बन्ध भन्न सकिन्छ । सिक्किमको नागरिक नेपालमा त्यस्तो कुनै मुद्दामा फसे सायद यस्तो सजिलो हुने थिएन होला, किन भने यो अन्तराष्ट्रीयस्तरको मुद्दा हुन जान्छ, यसको जरा निकै लामो गाड़िएको हुन्छ । तर जे भए पनि युट्युबर /ब्लगर उमा चामलिङ राई बहिनीले आवेशमा आएर केही अपठ्यारो शब्दहरू बोली पठाएको हुनु सक्छ, उहाँले सिक्किमको सबैलाई नभए पनि सिक्किमका केहीलाई माफी माग्नु भएको छ। यसो उहाँको उमेरलाई हेर्दा पनि माफी दिनु सकिन्छ जस्तो सिक्किमेहरूलाई लागेको छ ।

भारतको सिक्किम राज्य एक संवेदनशील राज्य हो । राज्यले पश्चिममा नेपाल र भुटान अनि पूर्वदिशामा (टीएआर) चीनसँग अन्तराष्ट्रीय सिमाना साँझा गर्छ । सिक्किम राज्यमा विदेशीहरूको निम्ति अघिबाटै इनर लाइन पर्मिट लागु छ । तर, अब सिक्किम राज्यलाई आंतरिक सुरक्षा र असामाजिक तत्वहरूबाट बचाउनु हो भने पर्यटन क्षेत्रलाई छुट दिएर देशको उत्तर पूर्वीय चार राज्यहरु अरुणाचल प्रदेश, नागालैंड, मिजोरम, मणिपुर सरह कड़ाईको साथमा इनर लाइन पर्मिट (आईएलपी) लागु हुनु अति आवश्यक रहेको सिक्किमे बौद्धिकस्तरका ब्यक्तित्वहरुले महसुस गरिरहेका छन् ।

यद्यपि, नेपाल र सिक्किमको प्रशासन र सचेत नागरिक यस्तो सानोतिनो झिना-मसिनामा नअल्झिए र हाम्रो गाडा सम्बन्ध र भाइचारा सधैँको निम्ति असल राख्नु सक्नु पर्छ । अन्तमा दुवै देशका नागरिकलाई अंग्रेजी नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामनासहित ।

(लेखक वीरेन्द्र तामलिंग, सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी उपाध्यक्ष (प्रभारी) र प्रचार/प्रसार प्रभागमा समेत छन् )  

Similar Posts