सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?
बिरेन्द्र ताम्लिङ
दक्षिण सिक्किमस्थित पवित्र रोलु मन्दिरको परिसरबाट २१ दिसम्बर २००९ को दिन तत्कालीन एकतन्त्रे, हैकमवादी, हिटलरीया सरकारको बिरोधमा क्रान्तिको शंखघोष गर्दै श्रीमान पीएस गोलेज्युले सिक्किममा पहिलोपल्ट परिवर्तनको नारा दिनु भएको थियो ।
पार्टी थिएन, गोले खेमाको साथमा वैचारिक क्रान्ति शुरू भयो, विचार मिल्नेहरु एकत्रित भएर संगठित हुँदै गए । पार्टीको नाम उच्च नेतृत्वले जुरायो “सिक्किम क्रान्तिकारी मोर्चा” त्यसबीच झण्डाको घेरुवा रंगलाई ६ महिना अघि नै शिर्ष समितिले अनुमोदन गरेको थियो भने अन्य दुई रंग रातो बीचमा र हरियो रंग मुनि थपेर तीन रंगे एसकेएम पार्टीको झण्डा बनियो ।
पार्टीको मजबुत संविधान बनिनुको साथै रोलु मन्दिरको परिसरबाट ‘परिवर्तन’ को नारा दिएर क्रान्ति शुरू गरेको त्यसको चार वर्षपछि ०४ फरवरी २०१३ को दिन पार्टीको नाम र झण्डा,अनि नारीलाई सम्मान जनाउदै श्रीमती भारती शर्माज्युलाई पार्टीको कार्यवाहक अध्यक्षको रूपमा सोरेंगको खेला मैदानमा हजारौ जनतालाई साक्षी राखेर घोषणा सहित सार्वजनिक भएको थियो भने त्यही वर्ष नै पार्टी पंजीकृत भयो ।
चुनाउ संघारमा थियो तर पार्टीले चुनाउ चिन्ह प्राप्त गरेको थिएन तत्कालीन सत्तापक्षबाट धेरै विघ्न वाधा पुर्याएता पनि १४ मार्च २०१४ को दिन पूर्व सिक्किमको सांग बजारमा पार्टी अध्यक्ष श्रीमान पीएस गोलेज्युले अंततः एसकेएम पार्टीको चुनाउ चिन्ह “टेबल लैंप” प्राप्त भएको घोषणा गर्नु भयो । चुनाउ चिन्ह प्राप्त गरे पनि गाउँ – घरमा पुर्याउनु/ चिन्हाउनु त्यति सजिलो थिएन भने जस्तो अहिलेको जस्तो सामाजिक सञ्जालको सजिलो माध्यम पनि थिएन तर कार्यकर्ताहरुले कठोर संघर्ष गरे, कसरत गरेपछि १२ अप्रैल २०१४ मा सम्पन्न भएको आम चुनाउमा ३२ सीटमा १० सीट एसकेएम पार्टीले ह्त्याउनु सफल भयो ।
२०१४ चुनाउको मत परिणाम यस्तो रह्यो एसडीएफ २२ र एसकेएम १० सीट, एसडीएफले प्रतिशतको हिसाबले ५५.०% १६९,९८६ मत प्राप्त गर्यो भने एसकेएमले ४०.८% १२६,०२४ मत प्राप्त गर्यो, अन्य दलहरु कांग्रेस – १.४% – ४३९०, बिजेपी – ०.७% -२२८०, त्रिमूल कांग्रेस – ०.२% – ५८६ प्राप्त भयो भने पार्टी र उम्मेदवारलाई मन नपराउने अथवा झुकिएर नोटामा १.४% – ४४६० मत गएको थियो ।
त्यस चुनाउमा राज्य भरीमा जम्मा ८३.६४% मत खसेको थियो । चुनाउको केही समयबाद १० जना विधायक मध्येमा ७ जना विधायक एसडीएफ सरकारमा सरुवा भए तर एसकेएम पार्टीका अगुवा नेता श्रीमान पीएस गोले, बरिष्ठ नेताद्वय कुंगा निमा लेप्चा र सोनाम लामाले कहिले हरेस खाएनन् आफ्नो पार्टीको उद्देश्य र लक्ष्य “सत्ता र ब्यवस्था परिवर्तन” अनि पार्टीको मूल सिद्धान्त “प्रजातान्त्रिक समाजवाद” लाई लिएर निरन्तर रूपमा अघि बड़ी रहे ।
केन्द्रीयस्तरमा राज्यको धेरै मांग विषयमा प्रतिनिधित्व गरे, सरकारलाई स्वास्थ्य सुझाउहरु दिई नै रहे, विधान सभामा जन गुनासो देखि राजनैतिक मुद्दा बिषयमा कुरा उठाए, चर्चामा भाग लिए, चर्को बहस गरे, जनताले दिएको जिम्मेवारी देखि कहिले पछि भागेनन् र विधान सभा सत्रमा कहिले अनुपस्थिति रहेनन् ।
कार्यकर्ताहरुले पाँच वर्ष कठोर संघर्ष र कसरत गरे, नेतालाई यातना दिने, मुद्दा हाल्ने, जेल हाल्ने कार्यहरु भई नै रह्यो तर नेता देखि कार्यकर्तासम्म कोहि पनि विचलित र हतास भएनन् , फलस्वरूप ११ अप्रैल २०१९ को दिन सम्पन्न भएको चुनाउमा एसकेएम पार्टीलाई ३२ सीटमा १७ सीट प्राप्त भयो भने एसडीएफ पार्टीलाई १५ सीट मात्र प्राप्त भएको थियो । मत परिणाम यस्तो रह्यो एसकेएम – १७ सीट, एसडीएफ – १५ सीट, प्रतिशतमा एसकेएम – ४७.१७% -१६५,५०७ मत प्राप्त भएको थियो भने एसडीएफलाई – ४७.६३% – १६७,६२० मत प्राप्त गरेको थियो । राज्य भरीमा जम्मा ८१.४३% मत खसेको थियो भने २०१४ को चुनाउको तुलनामा २०१९ को चुनाउमा २.२१% कम मत खसेको थियो ।
मतको हिसाबले नै हेर्नु हो भने एसडीएफले एसकेएम भन्दा २११२ ज्यादा मत प्राप्त गरेको थियो भने प्रतिशतको हिसाबले एसकेएमलाई भन्दा एसडीएफलाई ०.४६% ज्यादा मत प्राप्त भएको थियो । तर, यसपल्ट सिक्किमे जनताको भाग्य उदय भयो, एसडीएफ भन्दा दुई सीट ज्यादा ल्याएर एसकेएमले सरकार बनाउने मौका पायो । फलस्वरूप २८ मई २०१९ को दिन श्रीमान पीएस गोलेज्यु राज्यको पाँचौ मुख्यमन्त्रीको रूपमा पाल्जर स्टेडियममा एतिहासिक रूपमा शपथ ग्रहण समारोहमा शपथ ग्रहण गर्नु भयो, यो दृश्य हेर्ने लाखौ कार्यकर्ताहरुको ठुलो अभिलाषा त्यस दिन पुरा भएको क्षण थियो ।
२५ वर्षसम्म सिक्किममा एक छत्र राज गरेको साढ़े जस्तै एसडीएफ पार्टीलाई सिक्किमे जनताको एकै भोटको कारणले सत्ताच्युत गर्दै एसकेएम पार्टीको सरकार राज्यमा स्थापित गराई छाड़यो । मै हुँ भन्ने नेताहरु, हाम्रो जात नै मुख्यमन्त्री/मन्त्री भन्नेहरुलाई एकै झटकामा जनताको एकै भोटले रिंग आउट गराई दियो ।
प्रजातन्त्रमा जनता ईस्वर हुन् , जनता सर्व शक्तिमान हुन् भनेको त्यसै होइन रहेछ त्यो कुरा सत्य साबित भयो । सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु सधै भन्नु हुन्छ, “तपाईको एक भोटको कारण सिक्किममा परिवर्तन” आएको छ । हुन पनि आज सिक्किमेहरुको एक भोटको कारण राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार बनिएको पनि लगभाग पाँच वर्ष पुग्न लागेकोछ ।
एसडीएफको २५ वर्षे सत्ता कालमा सिक्किमको नारीहरुलाई “मेरो चेलीहरु” भनेर एसडीएफका नेताले फुरुक्क उचाल्थ्यो मात्र तर एउटा नारीमुखी योजनासम्म दिनु सकेन, नारीहरुले पनि हाम्रो “माईती राजा” भनेर २५ वर्षसम्म शासनमा टिकाई राख्नुमा अहम भूमिका निर्वाह गर्यो तर केही पाउनु सकेन तर सिक्किमेहरुको एक भोटको कारण एसकेएम पार्टी सरकारमा आउनु सफल भए पछि नारीहरुको कल्याणको निम्ति यो पाँच वर्षमा धेरै नारीमुखी योजनाहरु राज्यमा लागु गर्यो जस्तो (१)आमा सशक्तिकरण योजना (२) बहिनी योजना (३) वात्सल्य योजना (४) मेरो रुख मेरो सन्तति जुन योजनाहरुले नारीहरुलाई निकै सहज र सुविधा महसुस गराएको छ । एसकेएम पार्टीको सरकारले २०१९ को चुनाउको घोषणा पत्रमा लेखिएको जनतालाई दिएको बचनहरु प्रायः जस्तो पुरा गरेको छ भने अझै गर्दै जाँदैछ र सरकारले शुरू गरेको अनि कार्यान्वयन गरिसकेको धेरै योजनाहरु घोषणापत्र देखि बाहिरका छन् , जो सबै जनतामुखी,युवामुखी, नारीमुखी छन् ।
सम्मनानीय मुख्यमन्त्रीज्युले सिक्किमको जनताहरुको दुःख बुझ्न र तत्काल समाधान गर्न प्रत्येक समष्टिमा जनता भेटघाट कार्यक्रम गरिरहनु भएको छ । यो अनौठो कार्यक्रम हो, यस कार्यक्रम अन्तर्गत हजारौले तत्काल राहत पाईरहेका छन् , २५ वर्षसम्म यस्तो कार्यक्रम देखिएन, जनता भेटने त कुरै थिएन, कहिले काहि जनताले डंठा खाएको चाही सुनेको थियौ तर गर्दा हुँदो रहेछ तर गरेन ।
सिक्किम एउटा सानो राज्य हो, यहाँ नोकरी पाउनु साह्रो छ तर अहिले पनि हजारौ सिक्किमे युवाहरुले नोकरी पाईरहेका छन् । धेरै वर्ष देखि पदउन्नती नपाएका नोकरीदारहरुले भटाभट पदउन्नती पाईरहेका छन्, अन्याय भएको थियो न्याय पाईरहेका छन् यो हो परिवर्तन ।
२३ वर्षसम्म अस्थायी शिक्षक – शिक्षिकाको रूपमा काम गरिरहेकाहरुले भटाभट स्थायी नोकरी पाईरहेका छन् साह्रै खुशी भएका छन् । “एक घर एक नोकरी”(ओएफओजे) एसकेएम पार्टीको २०१४ को चुनाउको घोषणापत्रमा समावेश थियो तर २०१९ को चुनाउमा एसडीएफ सरकारले चुनाउको मुखमा भोट ह्त्याउनु यो कार्यक्रम अन्तर्गत करीब १८ हजारलाई नोकरी दियो तर बजेटमा तलब दिने प्रावधानसम्म राखेन, तर एसकेएम पार्टी सत्तामा आउने बित्तिकै बजेटमा तलबको पैसा राख्नुको साथै आउँदो २०२४ को चुनाउ अघि नै एसकेएम सरकारले ओएफओजे अन्तर्गत नोकरीमा नियुक्ती पाएकाहरुको नोकरी स्थायी गर्दैछ, त्यो देखि बाहेक अन्य नोकरीमा नियुक्ती पाएकाहरुको पनि नोकरी पक्का/ स्थायी हुँदैछन् ।
एसडीएफ सरकारले उड़ाएको पुरानो पेन्शन ब्यवस्था एसकेएम सरकारले पुनः लागु गरेर कर्मचारीहरुलाई न्याय दिंदैछ । देशमा लागु भएको One Rank One Pension एसकेएम सरकारले राज्यमा लागु गर्दैछ । यो हो सही परिवर्तन, यस्तो सरकारलाई पुनः एकपल्ट मौका दिएर अझ राज्यको धेरै काम गर्नु छ ।
राज्यको बिमारीहरुलाई उपचार नपाई मर्नु नदिने एसकेएम सरकारले कसम खाएको छ देशको जुनै अस्पतालमा पनि लगेर सरकारले उपचार गराउनेछ, यसलाई मध्यस्थता “गरीब जन कल्याण प्रकोष्ठ” संस्थाले गरिरहेकोछ, यसको अगुवाई सम्मनानीय मुख्यमन्त्रीज्युका कनिष्ठ पुत्र प्रभाकर गोलेज्युले गरिरहनु भएको छ । गरीब बिमारीहरुको हेरचाह यो संस्थाले गर्छ, यो संस्थाले २० वटा भन्दा ज्यादा एम्बुलेंसहरु सिक्किमका विभिन्न अस्पतालहरुलाई उपलब्ध गराएकोछ भने हजारौ स्टोनको बिमारीहरुको आपरेशन देखि ठुलो भन्दा ठुलो बिमारी देशको जुनै पनि अस्पतालमा निशुल्क उपचार गरिरहेकोछ ।
तत्कालीन एसडीएफ सरकारको मुखियाले भन्नु हुन्थ्यो, ” मेरो ३ लाख युवाहरुको ६ लाख हात कस – कसको गालामा छड़किन्छ, कस – कसको जिउमा बज्रिन्छ, ” भन्ने कुरा थियो भने वर्तमान सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु भन्नु हुन्छ, ” मेरो युवाहरुको हात कसैकोमाथि उठनु हुँदैन, त्यो हातहरुले सेवा गर्नु पर्छ ।” नेताहरुको भनाई यतिमा फरक छ, यसलाई नै त भन्छ परिवर्तन ।
यस्तो २५ वर्षे सरकारमा पनि गर्दा हुने थिएछ तर गरेन किन ? आफ्नो सन्तानहरुलाई ब्यापारमा मात्र संलग्न नगराएर जन सेवामा पनि लगाउँदा हुँदो रहेछ तर लगाएन, त्यो समय सिक्किमेहरुको निम्ति एक दुर्भाग्यपूर्ण थिएछ भन्ने कुरा अहिले मात्र सबैलाई थाहा भईरहेकोछ । यस्तै प्रकारले राज्यमा शिक्षा क्षेत्रले ठुलै फड़को मारेको छ, यो सबैलाई थाहा छ, यो भनी रहनु कुनै जरूरत छैन तर भए पनि एक दुईवटा उदाहरण पेश गरौ, वर्तमान सरकारले गरीबको नानीहरु पनि डॉक्टर हुनु सक्छ भनेर मणिपाल हॉस्पिटलमा सालमा ५० वटा एमबीबीएस डॉक्टरी पढ़ने (एमबीबीएस)को सीटको कोटा निशुल्क उपलब्ध गराएकोछ, यहाँ अहिले गरीबको नानीहरु धमाधम पढ़दैछन् यो बाहेक मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले धेरै गरीबको नानीहरुलाई आफ्नो निजी खर्चमा डॉक्टरी पढ़ादैछन् ।
यस्तै प्रकारले अब्बल दर्जाका गरीब नानीहरु तर अभिभावकले पढ़ाउनु सक्दैन, त्यस्ता नानीहरुलाई देश अनि बिदेशको नामी पाठशालाहरुमा सरकारले धेरैलाई निशुल्क पढ़ाई रहेको छ । यस्तो गर्नु २५ वर्षे सरकारले किन सकेन ? तर ५ वर्षे कलिलो एसकेएम सरकारले गर्दैछ । टिस्टा त्रासदी एक मानव निर्मित त्रासदी थियो भन्ने बुझिन्छ । पक्का डैम बनाएको भएमा त्यो स्थिति आउने थिएन तर पनि एसकेएम सरकारले त्यस्तो स्थितिलाई पनि सजिलै ब्यवस्थापन गर्यो, अस्थायी देखि स्थायीसम्म पुनर्वासको ब्यवस्था गर्यो, कुनै किसिमको कमी हुनु दिएन, दुःखको समयमा सरकारले साथ र सहयोग पुर्यायो, यो नै मानवता र महानता हो, तर विपक्षीहरु त्यस दुःखद घड़ीमा प्रेस कान्फ्रेन्स मात्र गरिरहे सहयोग भने थोरैले मात्र गरेको देखियो ।
बिश्व महामारी कोविडलाई अति राम्रो तरीकाले सरकारले नियन्त्रण गर्यो, घर – घरमा दवाई पुर्यायो, एसटीएनएम हॉस्पिटलमा ऑक्सिजनको प्लान्ट तत्काल स्थापित गर्यो, बिमारीहरुलाई मर्नुबाट धेरैलाई बचायो, विद्यार्थीहरुको पढ़ाईमा बाधा नपुगोस भन्ने उद्देश्यले लैपटाप, स्मार्ट फोन, स्मार्ट टीवी वितरण गर्यो ।
तर विपक्षी दलका नेताहरु आफ्नो ज्यान बचाउन घरमा लुकेर बसेका थिए भने राज्यका मुख्यमन्त्री श्रीमान पीएस गोलेज्यु हॉस्पिटल पुगेर ती महामारीको चपेटमा परेका बिमारीहरुसँग भेट गर्नु भयो अनि सहयोग पुर्याउन कुनै कसर बाँकी छाड़नु भएन, यस्तै अवस्थामा सरकारको सहयोग चाहिन्छ, त्यो सरकारले तत्काल पुरा गर्यो ।
राज्यको कृषकहरुलाई सहयोग र प्रोत्साहनको निम्ति दुधमा ₹ ८/- प्रतिलीटर प्रोत्साहन राशी कृषकहरुले सरकारबाट पाउँदैछन् भने साग – सब्जी, अदुवा, अलैची, सुन्तोला इत्यादिमा प्रोत्साहन राशि पाईरहेका छन् । यो बिश्वमा यस्तो कार्यक्रम कही छैन, सिक्किम सरकारले कृषकहरुलाई उपलब्ध गराएको छ । २५ वर्ष एसडीएफ पार्टीको सरकारमा यस्तो थिएन/पाएन, तर अहिले पाउँदैछ यो कृषकहरुको एक भोटको कारणले पाएको हो ।
सारथी, गुरुजी अथवा ड्राइवरहरुको आफ्नै बिभाग बनियो, अध्यक्ष देखि विभिन्न उच्च पदमा मनोनीत भए, सरकारले धेरै राम्रो योजनाहरु सारथीहरुको परिवारमा पनि लागु गरेको छ । सारथीहरुको जीवन सधै जोखिम पुर्ण रहेको कारण सरकारले उहाँहरुको जीवन बीमाको पैसा भुक्तान गर्ने घोषणा गरेकोछ, कुनै अप्रिय घटना घटेमा ₹ ५० लाखसम्म पीड़ित परिवारले पाउने छ, परिवारको जम्मा ७ जनाको जीवन बीमा सुरक्षित (Cover) गर्नेछ । २५ वर्षे पूर्व एसडीएफ सरकार कालमा यस्तो धेरै योजनाहरु कसैले सुनेको पनि थिएन तर वर्तमान एसकेएम सरकारले घोषणा मात्र होइन, गरेर दिखाएको छ ।
एसडीएफ सरकारले सिक्किमको विपन्न परिवारलाई ₹ ७ लाखको घर दियो, सबै लथालिंग अवस्थामा, अनि सरकार जाने बेलामा झूटो टोकन बाड़ेर हिड्यो तर एसकेएम सरकार आउने बित्तिकै ₹ १७ लाख ५१ हजारको सुविधा सम्पन्न घर बनाई दियो कुनै अधुरो छैन प्रायः जस्तो घर बनी सक्यो ।
अब फेरि ₹१७ लाख ५१ हजारको घर हजारौ बनिन्दैछ, एक वार्डमा ५ वटा सम्म बनिनेछ, यस्तो सरकार चाहिन्छ, भटाभट दिने भटाभट बनिने तर झुटो टोकन दिने होइन । अब विपन्न परिवारको आमाहरुलाई सम्मान गर्दै राज्यको १६ हजार विपन्न परिवार भित्रको आमाहरुको नाममा वर्षमा ४ वटा खाना पकाउने गैस सिलिंडर निशुल्क भरि दिने सरकारले घोषणा गरेको छ, यो सिक्किमे गरीब आमाहरुको सुविधाको निम्ति सरकारले सोचेको कुरा हो, सरकारले घोषणा गर्यो अब चाड़ै पाउँने छन् ।
२५ वर्षसम्म सोरेंग र पाक्योंग भेगको जनताले दुःख पाउनुसम्म पाए तर जिल्ला भएन, तर एसकेएम सरकारले एकै झटकामा सोरेंग र पाक्योंगलाई दुईवटा जिल्ला बनाएर छाड़यो । यो सरकारको इच्छा शक्तिमाथि निर्भर गर्छ । एककेएम सरकारले जिल्लाको रूपमा स्थापित गर्यो, त्यस भेगका नागरिकहरुले धेरै ठुलो न्याय पाएका छन् ।
१९९४ को चुनाउमा एसडीएफ पार्टीले ‘आप्रवासी’ बिदेशीको मूल मुद्दाको टाउकोमा टेकेर चुनाउ जित्यो र २५ वर्षसम्म सत्तासीन भए पनि छिना – फाना गर्नु सकेन, केवल चुनावी मुद्दा मात्र बनाई रह्यो, तर एसकेएम पार्टीको सरकारले एकै झटकामा सिक्किमेलाई लागेको आप्रवासी/ बिदेशीको कलंकलाई सधा – सर्वदाको निम्ति हटायो, यस एतिहासिक कार्यलाई सिक्किमको इतिहासले कदापी भुल्ने छैन, यो हो सिक्किमे जनताको एक भोटले ल्याएको परिवर्तन ।
एसकेएम पार्टीको सरकारले यो पाँच वर्ष भित्र के कति दीर्घमियादी बिकासहरु गर्यो, सहुलियत बाड़यो, योजनाहरु कार्यान्वयन गर्यो,यसको सम्पुर्ण जानकारी एसकेएम पार्टीको २०२४ को नयाँ डायरीको पेज १ देखि १६ पेजसम्म विस्तृत रूपमा दिइएको छ, कृपया पढ़नु नभुल्नु होला । एसडीएफ सत्ताकालमा विपक्षीलाई पानी खेदो गरिन्थ्यो, विपक्षलाई ठुलो कुरा त परै जवास जाबो बीपीएल चामलसम्म पनि काटिन्थ्यो, तर वर्तमान एसकेएम सरकारमा बिकास, सहुलियत, नोकरी, पदउन्नती इत्यादिमा कुनै पक्ष र विपक्ष भनेर भेदभाव र पक्षपात गरेर छुटाइएको छैन, यो एसकेएम सरकार एवं सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युको महान सोच भित्रको कुरा हो ।
पत्रकारिता भनेको प्रजातन्त्रको चौथो स्तम्भ हो, एक दर्पण मानिन्छ तर एसडीएफ सरकारको कार्यकालमा पत्र – पत्रिकाको मालिक देखि कर्मचारीसम्मले कुटाई खानु पर्ने, साह्रै असुरक्षित थिए,अन्याय थियो, त्राही – त्राही बाँच्नु पर्ने अवस्था थियो, राज्यमा पत्रकारिता स्वतन्त्र थिएन, कतिपय पत्रिकाको विज्ञापन समेत काटिएको थियो, तर अहिलेको एसकेएम सरकारको सत्ताकालमा पत्रकारहरुले न्याय पाएका छन् ।
कुनै पत्रकारहरुले कुटाई खानु परेको छैन, कार्यलय तोड़िएको छैन, समान रूपमा विज्ञापन पाएका छन् । पत्रकारहरुको अहिलेसम्म आफ्नो निजी कार्यलय थिएन तर अहिले पत्रकारहरुको आफ्नै कार्यलय स्थापित भएको छ, एसकेएम सरकारले उपलब्ध गराएको छ । पत्रकारहरुको धेरै मांगहरुलाई सरकारले आफ्नो संज्ञानमा लिएर काम गर्दैछ, यसरी सिक्किमेहरुको एक भोटको कारणले सही परिवर्तन भएको छ ।
एसडीएफ सरकारको २५ वर्षे सत्ताकालमा नारी देखि नेतासम्मलाई अश्लील गाली गर्ने, बदनाम गर्ने किर्ते पत्र – पत्रिका प्रसस्त निकाल्ने एउटा जमात नै खड़ा थियो र प्रथा नै बसेको थियो तर एसकेएम सरकार राज्यमा स्थापित भएपछि अहिलेसम्म एउटा पनि किर्ते पत्र – पत्रिकाहरु निस्केको छैन, कसैले बदनाम सहनु परेको छैन, अनि कसैलाई बदनाम गरेको पनि छैन, यो नै हो सिक्किमेहरुको एक भोटको महत्व र सम्मान । कतिवटा देखिने सम्मान हुन्छन् कतिवटा नदेखिने, अदृश्य/नदेखिने सम्मान भित्र यो एउटा सम्मान पर्छ । एसकेएम पार्टीले आफ्नो शैसव कालको यात्रा रोलुको पवित्र मन्दिरलाई साक्षी राखेर शुरू गरेको हो, सिक्किमे जनतालाई एसकेएम पार्टी र नेताले अहिलेसम्म धोका दिएको छैन अनि भविष्यमा पनि कहिले धोका दिने छैन, सिक्किमलाई बिगार्ने, बर्वाद र बदनाम गर्ने काम कहिले गर्ने छैन ।
एउटा जाति उचालेर, भाले काटेर भोग दिएर कसम खाएर, जातिवादी पुस्तक बाटेर, जातिवादी कुरा गरेर जन्मेको पार्टी होइन एसकेएम, एमकेएम पार्टी भनेको एक पवित्र धार्मिकस्थलबाट जरा गाड़ेर एक पवित्र सोच, एक पवित्र बिचार लिएर जन्मेको पार्टी हो, जबसम्म सिक्किमेली जनताले एसकेएम पार्टीलाई बिस्वास गर्छ, तबसम्म एसकेएम पार्टी र पार्टीमा आवद्ध रहेका नेताहरु सिक्किमेली जनताको ह्रदयको ढुक – ढुकी भएर बाँच्नेछ ।
यसैले सिक्किमे नागरिकहरुलाई शान्ति सुरक्षा, सरकारी नोकरी, सरदारी काम, दीर्घमियादी बिकास एसकेएम सरकारले मात्र दिनेछ तर विपक्षमा बस्नु/जानु भनेको बिरोध गर्नु अनि सस्तो गाली गर्नु बाहेक अरु केही छैन अनि आफैलाई नोक्सान पुर्याउनु मात्र हो । पाँच वर्षको निम्ति सिक्किमेली जनताले एसकेएम पार्टीलाई सरकार चलाउनु जनमत दिएको पक्कै हो तर विश्व महामारी कोविड -१९, टिस्टा त्रासदी र बिशेष एसडीएफ सरकारले २५ वर्षसम्म लथालिंग बनाएको ब्यवस्थालाई सम्हाल्नु नै निकै समय लाग्यो ।
कतिपय दीर्घमियादी बिकासको पूर्वधारहरु छोटो समयमा सकेर उद्घाटन भई सकेकोछ र कतिपय उद्धघाटन हुन लागेको अवस्थामा छ र कतिपय शुरू भईसकेको छ, जसले सिक्किम राज्यलाई नै नयाँ उचाईमा पुर्याउने संकल्प लिएर एसकेएम सरकार अघि बड़ेकोछ । एसडीएफ सरकारको २५ वर्षे सत्ताकालमा परसेंटेज खाएर लथालिंग अवस्थामा छोड़िएको योजना/परियोजनाहरुलाई पुनः यो सरकारले शुरू गरेको छ ।
एसडीएफ सरकारको पहिलो कार्यकाल १९९४ देखि १९९९ सम्म जति विकासीय योजना/ सहुलियत इत्यादिको तुलनामा एसकेएम सरकारको पहिलो कार्यकालमा लंकै जितेकोछ, यसमा कुनै शंका छैन,सबैको आँखा अगाड़ी झल – झली छ । तर, यस महत कार्यहरुलाई निरन्तरता दिन समय र सहयोग चाहिन्छ, कुनै पनि सरकारलाई एकपल्ट वा ५ वर्ष प्रयाप्त समय होइन, एसडीएफ पार्टीलाई जस्तो २५ वर्ष लामो समय एसकेएम पार्टीलाई दिनु पर्दैन/चाहिन्दैन, अब केवल एकपल्ट ५ वर्ष एक सत्ताकाल सिक्किमेली जनताले एसकेएम सरकारलाई मौका दिनु अति आवश्यकता छ ।
त्यसैले समस्त सिक्किमेली साधारण, सचेत अनि बौद्धिकस्तरका नागरिकहरुले एसकेएम पार्टीलाई पुनः एकपल्ट कुनै हालतमा सत्तामा पुर्याउनु अति आवश्यक छ भनेर अठोट गरिसकेका छन् अनि संकल्पित छन् ।
(लेखक: सिक्किम सरकारका सल्लाहकार हुनुहुन्छ)