राष्ट्रिय सभा निर्वाचन : कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी
झापा । राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ ।
महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ ।
कोशीमा प्रदेश सभाका ९३ सांसदको चार हजार ९२९ र दुई सय ७४ स्थानीय तहका पाँच हजार २०६ गरी कुल दश हजार १३५ मतभार छ । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ ।
निर्वाचनको कार्यतालिका
– २४ पुस : उम्मेदवारविरुद्ध उजुरी
– २५ र २६ पुस : मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित
– २७ पुस : उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन
– २८ पुस : निर्वाचन चिह्न वितरण
– ११ माघ : मतदान