| |

बहुतले खेतीबाट राम्रो आम्दानी लिँदै चुरेवासी

झापा । कुनै समय धान, मकै रोपेर ३ महिना खाने अन्नसमेत जोहो गर्न हम्मेहम्मे पर्ने चुरे क्षेत्रका बासिन्दा अहिले बहुतले खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र इलामको रोङ गाउँपालिकाको सीमा क्षेत्रका बासिन्दाले एउटै जग्गामा सुपारी, अलैंची र केरा लगाएर राम्रो आम्दानी गरिरहेका छन् । चिसोमा हुने अलैंची र गर्मीमा हुने सुपारी एउटै बारीमा फले पछि रोङ–१ का कृषक सुमन राई दंग हुनुहुन्छ । केही वर्ष अगाडिसम्म रोजीरोटीका लागि ज्याला मजदुरी गर्न भारतको कोइला खानी गएका सुमन अहिले आफ्नै बारीमा अलैंची, सुपारी फलाएर वार्षिक ५ लाख बढी आम्दानी गरिरहनु भएको छ ।

६१ रोपनी जग्गामा केरा र अलैंची लगाएकी रोङ–५ इलामकी सोमकुमारी राईको दैनिकी मात्र चलेको छैन वार्षिक लाखौँ रुपौयाँ बचत समेत भइरहेको छ । सोममायाले भन्नुभयो, ‘नानी पढाउने, औषधी उपचार गर्ने सबै खर्च केरा बेचेर नै चलेको छ, अलैंचीको पैसा बचत गरेको छौँ ।’ रोङ–५ भालुखोप क्षेत्रका अधिकांश कृषको पछिल्लो रोजाइको खेती केरा, सुपारी र अलैंची भएको छ । यो क्षेत्रमा मात्र ४० विघा बढी क्षेत्रमा बहुतले खेती गरिएको स्थानीय कर्णबहादुर लेप्चाले जानकारी दिनुभयो ।

विकासमा पछि परेको भए पनि यस क्षेत्रमा सिँचाइको सुविधा र मलिलोमाटो भएकाले बाली फस्टाउने गरेको लेप्चाको भनाइ छ । हात्ती प्रवाहित क्षेत्रको रूपमा रहेको मेचीनगर नगरपालिकाको बाहुनडाँगीका कृषकले समेत सुपारी र अलैंची खेतमा लगाएपछि राम्रो आम्दानी लिनथालेका छन् । हात्तीेले केरा, धान, मकै नष्ट गरे पनि सुपारी र अलैंची नखाने भएकाले कृषकको रोजाइमा यो खेती परेको मेचीनगरका कृषक खेमराज खतिवडाले बताउनुभयो ।

सुगम जिल्लाका चुरेभावर क्षेत्रका दुर्गम गाउँहरूलाई समेटेर मदन भण्डारी राजमार्ग निर्माणको काम द्रुतगतिमा अगाडि बडेसँगै यस क्षेत्रका युवाको आकर्षण कृषिमा बढेको मदन भण्डारी राजमार्ग निर्माण सरोकार समितिका अध्यक्ष बृहस्पति खतिवडाले बताउनुभयो । कृषकले यसै क्षेत्रको माटो सुहाउँदोे बहुतले खेती गरेर राम्रो आम्दानी गर्न थालेको खतिवडाको भनाइ छ ।

Similar Posts