झापामा लागूऔष नियन्त्रणको जिम्मा प्रहरीलाई, सरोकारवाला रमिते
ईखरीपाटी समाचार
झापा । झापामा लागूऔष प्रयोगकर्ता र कारोबारीको संख्य दैनिक बढ्दो छ । प्रहरीको सक्रियतामा हरेक दिन लागूऔषध कारोबारी पक्राउ परे पनि नियन्त्रण गर्न सकेको छैन ।
भारतसँग १४४ दशमलव २ किलोमिटर खुला सीमा फाइदा उठाउँदै प्रहरीको आँखा छलेर लागूऔष कारोबारीले झापामा आफ्नो सञ्जाल फैलाएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/०८१ को पुस २३ सम्ममा औषधको १०७ मुद्दामा १५६ अभियुक्त पक्राउ परेका छन् । उनीहरूबाट १६ केजी २२७ ग्राम गाँजा, ९८० ग्राम ९८० मिलिग्राम ब्राउन सुगर, कोडाइन फसफेट एण्ड ट्रिप्रोलाडिन हाइड्रोक्लोराइड सार्प ३० बोतल, इस्कुफ १० बोतल, ‘नाइट्रभेट-१०’ ३५० ट्याब्लेट, लाइकोरेक्स ७ बोतल, ‘नाइट्रोजम-१०’ ५० ट्याब्लेट, नट्राज पाम्प ९ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
लागूऔषध कारोबार र प्रयोगमा संलग्नमध्ये साउनमा ३४ पुरुष र ३ महिला, भादौमा ३७ पुरुष र ५ महिला, असोजमा ३८ पुरुष र ३ महिला, कात्तिकमा १७ पुरुष, मंसिरमा १४ पुरुष र ३ महिला, पुस २३ गतेसम्मा ११ पुरुषलाई पक्राउ गरिएको रिजालले जानकारी दिए । १०७ वटा मुद्दा दर्ता गरिएकोमा एक सयवटा फछ्र्यौट भएको र ७ वटा प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा झापामा ३३६ जना लागुऔषध प्रयोगकर्ता र कारोबारमा संलग्नलाई पक्राउ परेका थिए । ३०१ पुरुष र ३५ जना महिला गरी २०६ वटा मुद्दा दर्ता गरिएकोमा २०५ वटा फैसला भइसकेको र एउटा मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीको तथ्यांकले झापामा प्रत्येक वर्ष लागूऔषध कारोबारी र प्रयोगकर्ता बढिरहेको देखाउँछ । सीमा नदीमा पौडी खेल्ने बहानामा, कोही गाईवस्तु चराउने बहानामा समेत लागूऔषध ल्याउने गरेका छन् । पछिल्लो समय प्रहरीले निगरानी बढाएसँगै गोप्य अंगमा लागूऔषध राखेर ल्याउने क्रम पनि बढिरहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रणमा अहिले प्रहरीले मात्र काम गरिरहेको छ । लागूऔषध नियन्त्रणको जिम्मा प्रहरीलाई दिएर स्थानीय तह र प्रदेश सरकार तथा अन्य सरोकारवाला निकाय रमिते बनेको छ ।
लागूऔषध नियन्त्रणका लागि प्रहरीको मात्र भर पर्नुभन्दा पनि स्थानीय सरकार र प्रदेश सरकारले विशेष भूमिका देखाउनुपर्ने प्रहरीको भनाइ छ ।
झापाका काँकडभिट्टा, चन्द्रगढी, बिर्तामोड, दमकजस्ता ठूला सहरमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्य धेरै छ । यसअघि प्रहरीले लागूऔषध कारोबारीले डिलर नै सञ्चालन गरेकालाई पनि पक्राउ गर्दै आएको थियो । ठूला सहरमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या धेरै हुँदा पनि स्थानीय सरकारसँग लागूऔषध नियन्त्रणका कुनै योजना छैन । जिल्लाका स्थानीय तहहरू पनि प्रहरीकै भरमा छन् ।
Very interesting points you have noted, thank you for
posting.Raise blog range