नेप्से परिसूचक ६ महिनायताको उच्च
काठमाडाैं । सेयर बजारमा करिब दुई वर्षयताकै उच्च अंकको कारोबार भएको छ । लामो समयदेखि सुस्त सेयर बजारमा मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको कारोबार भयो । आइतबारको तुलनामा नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्दा सेयर कारोबार तीन अर्बले बढेको हो । आइतबार पाँच अर्ब चार करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसअघि २० माघ ०७८ मा आठ अर्ब ६९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । त्यतिवेला नेप्से २८७६.७४ विन्दुमा थियो ।
मंगलबार र २० माघ ०७८ को कारोबार रकम करिब बराबर हुँदा नेप्से सूचकमा भने धेरै अन्तर छ । अर्को भिन्नता भनेको नेप्से बढ्ने क्रममा आठ अर्बको कारोबार भएको छ भने २० माघ ०७८ मा नेप्से ओरालो लाग्ने क्रममा भएको थियो । त्यतिवेला नेप्से क्रमशः घट्ने क्रममा थियो, अहिले भने नेप्से बढ्ने क्रममा कारोबार ह्वात्तै बढेको छ । यो करिब ६ महिनायताकै उच्च विन्दु हो । अब यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने मुख्य चासो छ ।