राष्ट्रियसभा निर्वाचन : कोशीमा को बलियो ?
झापा । माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ । महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । कोशीमा प्रदेश सभाका ९३ सांसदको चार हजार ९२९ र दुई सय ७४ स्थानीय तहका पाँच हजार २०६ गरी कुल दश हजार १३५ मतभार छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्नेछन् । यो निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार एक जना बराबर ५३ हुन्छ भने नगरपालिका प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षको मतभार एक जना बराबर १९ रहने निर्वाचन आयोगले जनाएको छ । आयोगले तोकेको मतभारलाई आधार मान्दा कोशीमा गठबन्धनको मतभार पाँच हजार ४७४ छ । एमालेको चार हजार २१० मत भार छ भने राप्रपाको ३९४ र स्वतन्त्रको मत भार ५७ रहेको छ । कोशीमा गठबन्धनले एक जना ‘हेब्बीवेट’ उम्मेदवार उठाएको छ ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । उनलाई गठबन्धनले राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा छ । गत वर्ष भएको प्रतिनिधिसभम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका उनी राष्ट्रियसभाको उम्मेदवार भएपछि विवादमा छन् । मतभार हेर्दा कोशीमा गठबन्धन अगाडि छ । तर, राप्रपाले आफ्नै उम्मेदवार उठाए पनि एमालेलाई सहयोग गर्ने सम्भावना छ । सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका प्रतिस्पर्धी र लिङ्देनलाई एमालेले सहयोग गरेका कारण यो सम्भावना जीवितै छ ।
यस्तै, गठबन्धन एक भएर जान सकेन भने पनि सिटौला खतरामा पर्नसक्छन् । अंकगणितले कोशीमा गठबन्धन बलियो देखिन्छ । तर, कांग्रेसमा विगतदेखि नै डा. शेखर कोइराला समूहले विद्रोह गर्दै आएको छ । गोप्य मतदान भएकाले पार्टी र गठबन्धनभित्रको आन्तरिक द्वन्द्व देखिने खतरा पनि उतिकै छ । यस्तो अवस्थामा यसै भन्न सक्ने अवस्था नरहन सक्छ ।