हराएका तीन बालबालिकाको उद्धार, तीन महिनापछि अभिभावकलाई बुझाइयो
झापा । तीन महिनाअघि बेपत्ता भई भारतमा भेटिएका झापा र मोरङका तीनजना बालबालिकाको सकुशल उद्धार गरी शुक्रवार नेपाल ल्याइएको छ । उद्धार गरिएकाहरूमा झापाको मेचीनगर–७, भान्सा खोलाका ७ वर्षीय सुजन लिम्बू, मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी छन् । काँकडभिट्टा माविको कक्षा १ मा अध्ययनरत लिम्बू सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा लागेको दसैँ विशेष मेला हेर्न गएका थिए ।
मेला पुगेर घर नफर्किएका उनलाई त्यतै घुम्दै गरेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको थियो । घरैबाट हराएको ४ दिनपछि लिम्बू सकुशल भेटिएको खबर इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई आएको थियो ।
त्यस्तै, गएको मङ्सिर २७ गते विद्यालय गएको भनी घरबाट हिँडेका पोखरेल र दर्जी बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो । गछियास्थित साजिलाल सेकेन्डरी स्कुलको कक्षा ८ की छात्रा पोखरेल जिल्लास्तरीय परीक्षा लेख्न र सोही विद्यालयको कक्षा ४ की छात्रा दर्जी पढ्न भन्दै विद्यालय गएका पारिवारिक स्रोतको भनाई छ । नजिकै घर भएका मिल्ने साथीसमेत रहेका दुवै जना त्यसै दिन भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङ पुगेका थिए ।
घुम्न निस्किएका उनीहरूलाई राति ८ बजे मोजा किन्दै गर्दा शङ्का लागेर त्यहाँको प्रहरीले कहाँबाट र कोसँग आएको भनी सोधपुछ गरेको थियो । त्यस क्रममा उद्धार भएका उनीहरूलाई त्यहाँस्थित बालबालिका उद्धार गर्ने संस्था इजिट दार्जिलिङलाई बुझाएको थियो ।
उक्त संस्थाले एक सातासम्म आफ्नो संरक्षणमा राखेर आवश्यक सोधपुछ तथा परामर्शपछि उनीहरूका बारेमा कोलकातास्थित महावाणिज्य दूतको कार्यालयलाई पत्राचार गरेको थियो ।
त्यसपछि उक्त कार्यालयका सचिव सतिश थापा नेतृत्वको एक टोलीले उद्धार गरिएका तीनै जना बालबालिकालाई नेपाल ल्याएको हो । सकुशल अवस्थामा उद्धार गरी ल्याइएका तीन जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।
घर छोडेर सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेकामध्ये पोखरेलले सुन्दर हरैंचास्थित एक सुन पसलमा आफूले कानमा लगाएको सुनको मुन्द्रा राखेर ७ हजार रुपैयाँ लिएको खुलेको छ ।उनीहरू बेपत्ता भएसँगै परिवारजनले नेपाल तथा भारतका प्रहरी र उद्धारमा क्रियाशील संस्थाहरूलाई जानकारी गराएपछि खोजी कार्य तीव्र पारिएको थियो ।