सुदूरपश्चिममा विश्वासको मत लिँदै मुख्यमन्त्री, नागरिक उन्मुक्तिका प्रदेश सांसद काठमाडौंमा

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौं आएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन्।

‘हिजो बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल भयो। अहिले पनि हाम्रो पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल हुँदैछ,’ नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने,‘विश्वासको मत दिने वातावरण बन्यो भने केहीबेरमा धनगढी फर्किन्छौं।’

बुधबार बस्दै नबसी स्थगित भएको प्रदेश सभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौंमा रहेकाले बैठक सर्ने निश्चित छ।

नागरिक उन्मुक्ति पार्टीले भने जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएका छन्।

मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ। 

प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।

Source : Setopati

Similar Posts