नोटमा हस्ताक्षर सुरु गरे, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ ।
उनी ५ वर्षदेखि ‘पार्किन्सन्स’को समस्याबाट पीडित थिए । केही सातादेखि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारत थिए ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर राणालाई गभर्नर नियुक्त गर्दा उनको उमेर २९ वर्षको थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् । ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका राणाका २ छोरा र २ छोरी छन् ।
प्रजातन्त्र स्थापनापछिको पहिलो अर्थ सचिव र नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर थिए । उनी २६ अप्रिल १९५६ देखि ७ फेब्रुअरी १९६१ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए ।
नेपालमा राणा शासनको अन्त्यपछि ५ वर्ष देशको अर्थसचिव भएर काम गर्दा उनले नै अर्थ मन्त्रालय मातहतका निकायहरु स्थापना गर्न भूमिका निर्वाह गरेका थिए ।
एउटा अन्तर्वार्तामा राणाले बताए अनुसार, राष्ट्र बैंकले नेपाल सरकारको आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै उनले नै राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ भन्ने निर्देशक वचन राख्न लगाएका हुन् । छापको डिजाइन बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी थिइन् ।
उनी गभर्नरको रुपमा ४ वर्ष ८ महिना कार्यकालमा रहँदा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरू भएका थिए । लामो समयदेखि भारतीय रुपैयाँमा कारोबार गरिने नेपालको तराई क्षेत्रमा सहजताका साथ नेपाली रुपैयाँलाई चलनचल्तीमा ल्याउन उनी सफल भएका थिए । त्यसपछि तराई पनि नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने अनुभव तराइवासीहरूले गर्न थालेका थिए ।
मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने मान्यता र उद्देश्यले नेपाल राष्ट्र बैंकको स्थापना गरिएको राणाले बताउने गरेका थिए । २०१३ सालसम्म नेपालमा द्वैध मुद्रा प्रचलनमा थियो । काठमाडौं उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्ती हुने, झापादेखि कन्चपुरसम्मको तराइ र भित्री मधेशमा भारतीय मुद्रा प्रचलनमा थियो ।
राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन, ‘सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको थियो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।’
नेपाल राष्ट्र बैंक स्थापनापछि ‘बैंक अफ इंङल्यान्ड’ लगायतका अन्तर्राष्ट्रिय बैंकमा खाता खोलिएको थियो । तत्कालीन ब्रिटिस गोर्खालीहरू पेन्सनका लागि ‘पाउन्ड’ साट्न राष्ट्र बैंकमा आउन थाले । विदेशी विनियममा पनि नेपाल क्रमश आत्मनिर्भर हुँदै गयो । आफ्नो कमाइबाट नेपाल आफैंले खर्च गर्न सक्ने हुँदै गयो ।
नेपाल राष्ट्र बैंकका अनुसार, जुद्ध शमशेरको पालामा पहिलो पल्ट नेपाली नोट निष्काशन भएको थियो । त्यसबेला कागजको मुद्रा निष्काशन गर्दा सुरक्षण राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैंक स्थापना भएपछि नोट निष्काशनको प्रबन्ध गरियो ।
त्यसको अर्थ नोट निष्काशन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी धरौटी राख्नुपर्ने ऐन नियम बन्यो । नोट निष्काशन गरिसकेपछि नोट च्यातियो, मैलो भयो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि राणाले गरे ।
उनी नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा भारतसँग स्थिर विनिमयदर कायम भएको थियो । त्यतिबेला अध्ययन गरेर १६० रुपैयाँ तोकिएको स्थिर विनिमयदर अहिले पनि कायमै छ । त्यसैले पूर्व गभर्नर क्षेत्री राणालाई दुरदर्शी अर्थ विज्ञको रुपमा चिन्छन् । विभिन्न कालखण्डमा भारतीय रुपैयाँसँगको विनिमयदर तलमाथि भए पनि अहिले १६० रुपैयाँ नै रहेको र २०१४ सालमा उनी गभर्नर भएपछिकै विनिमयदर मुलुकमा कायम भएको उनले बताए ।
नेपाल राष्ट्र बैंकले नोट निष्काशन गर्नुपूर्व सदर मुलुकी खानाबाट नोट निष्काशन हुने गर्थ्यो । त्यसमा खजाञ्चीको नाम हुन्थ्यो तर उनको हस्ताक्षर हुँदैनथ्यो । २०१६ सालबाट भने नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकले पायो । त्यसपछि निष्काशन भएका नोटमा प्रथम गभर्नर हिमालन शमशेर राणाको हस्ताक्षर थियो ।
हिमालय शमशेर राणा तत्कालीन प्रधानमन्त्री श्री ३ देव शम्शेरको पनाती थिए । सोही कारण उनले १६ वर्षमै कर्नेल उपाधि पाएका थिए ।
Source : Setopati