झापाको धनुषकोटीधाम पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’
झापा । झापाको कनकाई नगरपालिका- २ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई हानाहान भएको थियो ।
ग्याङ फाइटमा परी बिर्तामोड नगरपालिका-७ का २३ वर्षीय दीपक लिम्बू र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखा माथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ, भने दीपक र लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटना घटे लगतै इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएका थिए । घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटना मादक पदार्थ सेवन पश्चात् भएको बताउँदै प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले भने, ‘दुवै पक्षबीच झडप भए पनि धारिलो हतियार प्रयोग गरिएको छैन ।’