कोशीमा राप्रपा : ‘जतामल्खु उतैढल्कु’
झापा । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन गरेका छन्। सत्ता गठबन्धनसँग मिलेर कोशीमा सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालमेलको सहमति गरेको हो । एमालेका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन्।
एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो। एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन् । कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेश र स्थानीय तह गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
जसअनुसार सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार ६४२ छ ।