|

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन

ad

माङसेबुङ । किरातीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङ-६ मा वृहत्त साकेलाशिली प्रदर्शन गरिएको छ । 

उधोलीसँगै किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किरात राईहरूको सांस्कृतिक नृत्य साकेलाशिलीको प्रदर्शन भएको हो । किरात राई यायोक्खा पारुहाङ टोल इकाई समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेलाशिली प्रदर्शन गरेका थिए । 

साकेलाले किरात राईहरूको पहिचानलाई स्थापित गरेको छ ।  पाँचथर मिक्लाजुङको केलाङ याकथुङ चुम्लुङ टोलीले लिम्बूहरूको सास्ंकृतिक नृत्य केलाङसमेत प्रस्तुत गरेको थियो । किरातीहरूले मंगलबार उधौली पर्व धुमधामका साथ मनाउँदैछन् । सो अवसरमा सरकारले सर्वजनिक बिदासमेत दिएको छ । 

उधौलीकै अवसरमा माङसेबुङ-६ हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ ।

 उक्त वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरे । किरात राईहरूको प्रतिकको रूपमा रहेको वाबुक (चिन्डो) जन्मेदेखि मृत्युसम्मका मुन्धुमी संस्कारमा प्रयोग गर्ने गरिएको किरात राई यायोक्खा माङसेबुङ-६ समितिका अध्यक्ष जगत राईले जानकारी दिए । उक्त वाबुकको प्रतिमा देश तथा विदेशमा रहेका किरात राईहरूको दान र स्थानीयको श्रमदानबाट बनाइएको अध्यक्ष राईले जानकारी दिए । उक्त प्रतिमा निर्माणका लागि पाँच लाख बाढीको खर्च भएको उनले बताए ।

उधौलीको अवसरमा आयोजना गरिएको साकेलाशिली प्रर्दशन कार्यक्रमका प्रमुख अतिथि तथा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विभिन्न जातजातिको भाषा, संस्कार र संस्कृतिको सम्वद्र्धनमा गाउँपालिकाले सधैँ सहयोग गर्ने बताए । उनले विभिन्न पर्वहरूको अवसरमा आयोजना गरिने यस्ता संस्कृतिक कार्यक्रमले पहिचान स्थापित गर्न र संस्कार, संस्कृतिलाई बचाइराख्न सहयोग गर्ने बताए । अध्यक्ष राईले दाताहरू र स्थानीयले निर्माण गरेको यो वाबुक (चिन्डो)को संरक्षणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले किरात राईले साकेलाशिलीमा जीवन दर्शन रहेको बताए । ‘साकेलाशिलीमा जीवन दर्शनसँगै प्रकृतिसँगको अथाह प्रेम छ,’ उनले भने । उपाध्यक्ष नेम्वाङले किरातीहरूमा अब राजनीतिक जागरण आउन जरुरी भएको बताए । ‘०४६ को जनआन्दोलन पश्चात् किरातीहरूमा सांस्कृतिक जागरण आएको छ । संस्कार र संस्कृति जोगाउन हामी अघि बढेका छौँ ।  तर, राजनीतिक जागरण आउन सकेको छैन,’ उनले भने, ‘अब किरातीहरूमा राजनीतिक जागण पनि जरुरी छ ।’

कार्यक्रममा माङसेबुङ ६ का वडाध्यक्ष प्रदीप साम्पाङ, गाउँपालिका प्रवक्ता सुसन राईलगायतले मन्तव्य राखेका थिए ।

Similar Posts