यू–१९ विश्वकपमा नेपालको सामना गर्दै पाकिस्तान
काठमाडौं । दक्षिण अफ्रिकामा सञ्चालन भइरहेको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले बुधबार महत्वपूर्ण खेलमा पाकिस्तानको सामना गर्दै छ । प्रतियोगिताको डेथ अफ ग्रुप नाम दिइएको समूह ‘डी’मा नेपाल आइतबार आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाको पार्क इस्ट लन्डनमा दिउँसो दुई बजे नेपाल र पाकिस्तानबीच खेल हुनेछ । नेपालले प्रतियोगिताको सुपर सिक्समा स्थान बनाउन पाकिस्तानलाई हराउनु पर्नेछ । पाकिस्तानसँग पराजित भए नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बन्नेछ । नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानविरुद्ध खेल्नेछ ।
यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो चौथो भेट हो । विश्वकपमा टेस्ट मान्यताप्राप्त पाकिस्तानको युवा टोलीविरुद्ध नेपालको रेकर्ड राम्रो छ । आइसिसीको तथ्यांकअनुसार नेपाल र पाकिस्तानले समान एक खेलमा जित निकालेका छन् । एक खेल वर्षाका कारण दुवै टोलीले अंक बाँडेका थिए । यद्यपि, एसिसी यू–१९ एसिया कपका तीनवटै खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । सन् २००० मा नेपाल र पाकिस्तानसँग पहिलो भेट भएको थियो । वर्षाका कारण यो खेल रद्द भयो ।