भ्याट छली मुद्दामा भाटभटेनी दोषी
काठाडौँ । मूल्य अभिवृद्धि कर (भ्याट) छलीसम्बन्धी हाइप्रोफाइल मुद्दामा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि दोषी ठहर भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि आफैँले गरेको फैसला मंगलबार सदर गर्दै भाटभटेनीले नक्कली भ्याटबिल बनाएर कर छलेको ठहर गरेको हो । यससँगै भाटभटेनीले कर, जरिवाना, थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यलाई बुझाउनुपर्ने भएको छ ।
भाटभटेनीले भ्याटको नक्कली बिल जारी गरी कर छलेको विषयमा सर्वोच्चबाट अन्तिम फैसला आएको हो । न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले पुरानो फैसलालाई नै सदर गर्दै कर कार्यालयले निर्धारण गरेको कर तथा जरिवाना रकम कानुनसम्मत रहेको ठहर गरेको हो ।