शिवानी हाईड्रोपावरका कारण गाउँ नै पहिरोको जोखिममा
इ–खरिपाटी ब्युरो रिपोर्ट
ताप्लेजुङ् । ताप्लेजुङ जिल्लाको पाथिभरा याङबरक गाउँपालिकामा संचालित जलबिद्युत आयोजनाका कारण स्थानीय गाउँनै जोखिममा परेको छ । शिवानी हाईड्रोइलेक्ट्रीक प्रालिले मापदण्ड मिचेर संचालन गरिरहेको ५ मेगावाट क्षमताको बिधुत आयोजनाका कारण गाउँ नै पहिरोको चपेटामा परेको हो ।
ताप्लेजुङ जिल्लास्थित फावा खोलाबाट पानि ल्याएर काबेली नदीकोे किनारमा शिवानी हाईड्रोपावरले संचालन गरेको जलबिद्युत आयोजनाका कारण पाथिभरा याङबरक–२ स्थित थेचम्बु गाउँनै जोखिममा परेको छ । फावाखोलाबाट पावरस्टेशनमा पानि झार्न बिचमा बनाईएको टेङ्कीबाट ओभरफ्लो पानि गाउँ पुच्छारमा रहेको खाल्डे भिरमा छाडा छोड्दा ठूलो पहिरो चलेको हो ।
पहिरोको कारण गाउँ नै जोखिममा परेको र रातभर सुत्न नसकिएको पाथिभरा याङबरक–२ देउमान लिम्बुले बताएका । पहिरोको कारण केही नम्बरी जग्गा, घर, देविस्थान र लिम्बु जातिले चिहानको रुपमा प्रयोग गर्दै आएको जमिन समेत पहिरोले बग्न थाले लिम्बुले बताए ।
गाउँको तलतिर रहेको भिरको पहिरोले ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदी समेत बेला बेला थुन्ने गरेको छ । पहिरोले नदी थुनिदा नदिले धार परिवर्तन गरेर पाँचथर तिरको जमिनमा समेत पहिरो जान थालेको पाथिभरा याङबरक –२ का जयप्रसाद लिम्बुले बताए ।
हरेक सालको बर्षायाममा मात्रै होइन बाह्रै महिना आयोजनाले भिरको टुप्पाबाट पानि खसाल्ने गरेको छ । पहिला गाई बस्तु चराउन मिल्ने स्थानमा अहिले पहिरोका कारण अक्करको भिर जस्तो भएको स्थानीयको आरोप छ । पटक पटक कम्पनिका मालिक सुधिर प्रधानाङ्गलाई फोन गरेर समस्या राख्दापनि वास्ता नगरेको पाथिभरा याङबरक–२ का रामप्रसाद उप्रेतीले बताए ।
आयोजनाले कम्पनमिा शेयर हाल्न भन्दै गाउँका सोझासिधा नागरिकसँग लाखौ रुपैयाँ रकम उठाएको भएपनि शेयरको प्रमाणपत्र भन्दै आफुहरुलाई नक्कली कागज दिएको उप्रेतीको आरोप छ ।
शिवानी हाईड्रोइलेक्ट्रीक प्रालीका सञ्चालक सुधिर प्रधानाङ्गले भने भिरमा पहिरो नलडेकोे साधारण बोक्रे जवाफ दिए र पन्छन खोजे । उनले स्थानीयलाई कम्पनिको नक्कली प्रमाणपत्र बाँडेको बारे समेत टालटुले जवाफ दिए ।
यता, कतैबाट आफ्नो समस्या समाधान र सुनुवाई नभएपछी स्थानीयले बिधुत बिकास बोर्डलाई गुहार्दै आएका छन् । समस्याको समाधान समयमै गर्न नसकिए काबेली नदीमा संचालमा रहेको काबेली–ए परियोजनाको संरचना समेत पहिरोले पुर्नसक्ने र पाँचथर तर्फपनि पहिरोको जोखिम रहेको स्थानियको भनाई छ ।