संसद्कै सुरक्षामा गम्भीर कमजोरी, कहाँ चुक्यो प्रहरी ?
निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका हुन् । सुरक्षा निकायले उपलब्ध गराएको विवरणअनुसार ४८ महिला र एक पुरुष अनधिकृत रूपमा प्रवेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
कहाँ चुक्यो प्रहरी ?
विभिन्न जिल्लाबाट आएका लघुवित्त तथा सहकारीपीडितहरू संगठित भएर एक सातायता उपत्यकामा आन्दोलन गर्दै आएका छन् । उनीहरूको बसाइ भने गौशालानजिकैको सिफल चौरमा छ, जहाँ सादा पोसाकमा प्रहरीहरू निगरानीमा खटाइएका छन् ।
आन्दोलनकारीहरू सोमबार दिउँसो छरिएर एक्लाएक्लै विभिन्न क्षेत्रमा लागे । कोही पशुपति घुम्न त कोही सहर घुम्न । फिल्डमा खटिएका प्रहरीले माथिल्लो निकायलाई जानकारी गरायो– आन्दोलनकारीहरू घुम्न निस्किएका छन्, आज बाहिर आन्दोलन छैन । तर, त्यो प्रहरीलाई झुक्याउने उनीहरूको रणनीति थियो, जसमा उनीहरू सफल भए ।
एक्लाएक्लै बानेश्वरको पानीट्यांकी क्षेत्रमा उनीहरू जम्मा भए । संसद् भवनछेउमा जम्मा हुने र गेटभित्र प्रवेश गर्ने योजना थियो । सोही योजनाअनुसार शान्तिपूर्वक गेटसम्म पुगेका उनीहरू गेटमा रहेका प्रहरीलाई धकेलेर भित्र छिरेका हुन् । प्रहरीको सूचना संयन्त्र भुत्ते हुँदा गम्भीर सुरक्षा चुक हुन पुगेको उपत्यका प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् । जब कि सो क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा प्रहरीबाट सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटिदै आएका छन् । सिसी क्यामेराको समेत निगरानीमा रहने सो क्षेत्रमा उनीहरूको योजना कसैले चाल पाएनन् । नयाँ पत्रिकामा समाचार छ ।