युद्धमा मारिएका झापाका अधिकारी कतारबाट दुबई हुँदै रुस पुगेका थिए
झापा । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका झापाका गंगाराम अधिकारी हल्दिबारीका स्थायी बासिन्दा रहेको खुलेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको खबर सार्वजनिक गरेको थियो । त्यसमा झापा ठेगाना भएका गंगाराम अधिकारी नाम थियो ।
साबिक गोलधाप-५ हाल हल्दिबारी गाउँपालिका-१ निवासी रघुनाथ अधिकारीका एक मात्र छोरा ३३ वर्षीय गंगाराम अधिकारीको युक्रेनसँगको युद्धमा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । अधिकारी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार गएका थिए । त्यसपछि उनी कतारबाट दुबई पुगे । दुबईबाट रसिया गए र त्यहाँ पुगेर गैरकानुनी रुपमा उनी करिब चार महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । गत माघ ४ गते परिवारजनसँग अन्तिम पटक उनको सम्पर्क भएको पारिवारिक स्रोतले जनाएको छ ।
अधिकारीका घरमा श्रीमती अनुराधा अधिकारी, १५ र ५ वर्षका दुई छोरा रहेका छन् । दुबई गएका अधिकारी त्यहाँबाट रुसी सेनामा गएको कुरा परिवारलाई त्यति धेरै थाहा नभएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । मन्त्रालयको विज्ञप्तिमा झापाका गंगाराम अधिकारीको पनि मृत्यु भएको कुरा सार्वजनिक भएपछि उनको ठेगाना खोजी गर्दा हल्दिबारी भनेर खुलेको एसपी केसीले बताए ।
मन्त्रालयले विज्ञप्ति जारी गरेपछि उनका परिवारलाई घटना थाहा भएको हल्दिबारी १ का वडा अध्यक्ष देवी थापाले बताए । रुसी सेनामा भर्ना भएपछि करिब एक महिना अगाडि गंगाराम युद्धका क्रममा घाइते भई हस्पिटल भर्ना भएका थिए । सोही घटनालाई लिएर उनको मृत्यु भएको कुरा पुष्टि भएको वडा अध्यक्ष थापाले बताए ।